काठमाडाैं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा घटाएका छन् । निगमले बुधबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि त्यसको प्रभाव हवाई यात्रुको टिकट मूल्यमा परेको हो ।
इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरूले यात्रुसँग हवाई भाडासँगै लिँदै आएको इन्धन शुल्क (फ्युल चार्ज) घटाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको नयाँ दरअनुसार सुगम क्षेत्रदेखि दुर्गम क्षेत्रसम्म जाने हवाई सेवाको इन्धन शुल्क घटाइएको हो ।
नयाँ समायोजनपछि काठमाडौं–धनगढी हवाई यात्राको भाडा सबैभन्दा बढी घटेको छ । काठमाडौंलाई आधार बनाएर सञ्चालन हुने आन्तरिक उडानमध्ये टाढाको गन्तव्य धनगढीको भाडा १ हजार ७६५ रुपैयाँले घटेको छ ।
त्यस्तै, काठमाडौं नजिकको गन्तव्य सिमराको हवाई भाडा ३६० रुपैयाँले घटेको छ । इन्धन शुल्कमा आएको कमीअनुसार विभिन्न गन्तव्यको हवाई भाडामा फरक–फरक दरले कमी आएको वायुसेवा कम्पनीहरूले जनाएका छन् ।
इन्धन खर्च हवाई सञ्चालन लागतको महत्वपूर्ण हिस्सा भएकाले निगमले मूल्य घटाउँदा त्यसको प्रत्यक्ष असर टिकट मूल्यमा पर्ने गर्छ । यसअघि इन्धनको मूल्य बढ्दा हवाई भाडा पनि बढ्दै आएको थियो भने अहिले मूल्य घटेसँगै यात्रुले केही राहत पाउने भएका छन् ।
वायुसेवा कम्पनीहरूले बुधबारदेखि नै नयाँ भाडादर लागू गरेका छन् । हवाई यात्रुको चाप बढ्ने समयमा भाडा घट्नुले आन्तरिक पर्यटन तथा यात्रु आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
