कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट अवैध लागुऔषधसहित एक जना वडासदस्य पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ की वडासदस्य रूपा जैरू रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा शङ्कास्पद अवस्थामा फेला परेकी जैरूलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनको शरीरमा लुकाइछिपाइ राखिएको कालो प्लास्टिकको पोकोबाट प्रोमेथाजिन हाइड्रोक्लोराइड नामक सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड नामक सुई १५ एम्पुल बरामद गरिएको छ। यसरी कुल ३० एम्पुल लागुऔषधजन्य सुई बरामद भएको प्रहरीले जनाएको छ।
स्थानीय जनप्रतिनिधिकै संलग्नतामा लागुऔषध फेला परेको घटनाले क्षेत्रीय स्तरमा चर्चा र चासो बढाएको छ। प्रहरीले बरामद गरिएका सामग्रीको प्रकृति तथा यसको सम्भावित कारोबार सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
हाल रूपा जैरूमाथि लागुऔषधसम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको र अनुसन्धानबाट थप तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपालमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसारका घटनाहरू बढ्दै गइरहेका बेला जनप्रतिनिधि नै यस्तो आरोपमा पक्राउ पर्नुले समाजमा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध कडा निगरानी जारी राख्ने जनाएको छ।