Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हर्कराज साम्पाङ भन्छन्- ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ३० २०८३
  • 836
    SHARES

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे ।

उनले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए । अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे ।

उनले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने दाबी गरे । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए । आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाए । उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।

उनले भने ‘यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली गर्दो रहेछ । संसारमा अहिले सबै भन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ । मैले किन गाली खाइराख्नु परिरहेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु । यो देशलाई सम्झेर थुप्रो चोटि रोएको छु, थुप्रो चोटि हाँसेको पनि छु । मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ । पहिला धरानमा हुँदाखेरि मैले दिनको एक हजार वटा गाली पाउँथे, अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु । ती सम्पूर्ण मलाई गाली गर्ने महानुभावहरूलाई, ती विद्वान मित्रहरूलाई, ती बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ, मेरो माया सम्झना छ । यसरी नै मलाई गाली गरिरहनुस्, म मेरो बाटो हिँडिरहन्छु, तपाईँहरू मेरो खुट्टा तानिरहनुस् । तर अन्ततः जित मेरै नै हुनेछ । दार्चुलामा पुल थाप्नका लागि हामी गयौँ, थुप्रैले खुट्टा तानेको तानेकै, तपाईँहरूले खुट्टा तानिरहनुभएको छ, हामीले पुलको लट्ठा तानेर पुल बन्न आँट्यो । अब १०–१५ दिनमा उद्घाटनमा जाँदै छु ।

त्यसपछि हामी फेरि अर्को प्रोजेक्ट गर्छौँ त्यहाँ पनि खुट्टा बेस्सरी तान्नु है । हामी यो देशलाई जब माया गर्छौँ, अपहेलित बन्छौँ, तिरस्कृत हुन्छौं, बहिस्कृत हुन्छौं, सकिन्छ भने आफू काम गरौँ, आफू काम गर्न सकिँदैन भने अरूले गरेकोलाई खुट्टा तान्ने काम, बाधा अवरोध गर्ने काम र त्यसलाई अपमानित र निरुत्साहित गर्ने चलनको अन्त्य गरौँ । त्यो चलनको अन्त्य भएको दिन सतीले दिएको सरापदेखि मुक्त हुनेछ, हाम्रो देश । प्रधानमन्त्रीलाई संसदको रोष्ट्रममा उभिएर जनताको उत्तर दिनुपर्छ भन्नु मेरो गल्ती हो ?

देशको सिमानामा सुस्तामा भारतीय सेना आएर हतियार देखाएर अतिक्रमण गर्न थाले, त्यहाँनेर हाम्रो सेना पठाउनुपर्छ, सुरक्षाकर्मी पठाउनुपर्छ भन्ने मेरो गल्ती हो ? विदेशी ऋण लिएर हैन, ठूलठूला तपाईँको संरचनाहरू बनाएर विकासको फुइँ लाउनु भन्दा आफ्नै ढुङ्गा माटोमा आफ्नै पसिना बगाएर स्वाभिमानी, स्वाधीन अर्थतन्त्रको विकास गरौँ भन्नु मेरो गल्ती हो ? गल्ती कहाँ छ हर्क साम्पाङ को ? त्यत्तिकै हावामा गाली गरेको छ, गाली गरेको छ, गाली गरेको छ । तपाईँको मनलाई सोधेर हेर्नु त, तपाईँको मनले साँच्चै नै हर्क साम्पाङ गलत हो भन्छ त ? कि तपाईँलाई कसैले पैसा दिएर गाली गर्, एउटा गाली गरे बापत तपाईँलाई ५० रुपैयाँ दिन्छु, १०० रुपैयाँ दिन्छु भनेर अह्राएको हो ? यदि त्यो गाली गर्ने तपाईँको पेसा हो भने ठिक छ, एउटा कम्पनी खोलेर गाली नै गर्नु । गाली गर्ने कम्पनी खोल्नु त्यसको चेयरमेन बन्नु, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस् ।’

उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गरे । पार्टी सङ्गठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४