काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नेपाल–भारत सीमा विवादको समाधान कुटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन्। उनले सीमा जस्तो संवेदनशील विषयलाई सार्वजनिक बहस र राजनीतिक नाराबाजीभन्दा पनि औपचारिक कुटनीतिक माध्यमबाट टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले दुई देशबीचका जटिल र संवेदनशील विषयहरू कुटनीतिक च्यानलमार्फत समाधान गरिनु नै अन्तर्राष्ट्रिय अभ्यास भएको बताए। उनले सीमा समस्याका विषयमा अनावश्यक हल्ला वा प्रचारले समाधान नदिने उल्लेख गर्दै आवश्यक समयमा उचित प्रक्रियाअनुसार पहल गरिनुपर्नेमा जोड दिए।
उनले भने, “कुनै पनि विषय दुई देशबीचको कुटनीतिक च्यानलमार्फत अघि बढाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। सीमा जस्तो संवेदनशील विषयमा हल्ला गर्दै हिँडेर समाधान हुँदैन। तर देशको हितका विषयमा आवश्यक ठाउँमा, आवश्यक समयमा र व्यवस्थित तरिकाले पहल गर्नुपर्छ।”
लामिछानेले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी विषयहरू समाधानका लागि दुवै पक्ष संवादका माध्यमबाट अघि बढ्न इच्छुक रहेको पनि बताए। उनका अनुसार यस्ता विषयमा भावनात्मक प्रतिक्रिया भन्दा पनि परिणाममुखी कुटनीतिक पहल आवश्यक हुन्छ।
उनले सीमा विवाद समाधानका लागि समय, परिस्थिति र प्रक्रियाको महत्व रहने उल्लेख गर्दै राजनीतिक बहसभन्दा व्यवहारिक कूटनीतिक प्रयास प्रभावकारी हुने बताए। “हरेक कामको आफ्नै चरण हुन्छ। सीमाको विषय पनि त्यही प्रक्रियाअन्तर्गत सम्बोधन गर्नुपर्छ। सडक र सदनमा बहस गरेर मात्र समाधान निस्कँदैन, अन्ततः कुटनीतिक माध्यमबाट नै निष्कर्षमा पुग्नुपर्छ,” उनले भने।
यस क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह ले हालै व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिको प्रसंग पनि उठाए। उनले उक्त विषयमा परराष्ट्र मन्त्रालय ले स्पष्ट धारणा सार्वजनिक गरिसकेको र मन्त्रालयको धारणा नै सरकारको आधिकारिक अडान भएको बताए।
लामिछानेले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति, सरकार र सम्बन्धित निकायहरू एकमत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सीमा विवाद समाधानका लागि संयम, संवाद र कुटनीतिक दक्षता आवश्यक रहेको बताए।
नेपाल–भारत सीमा सम्बन्धी विषय समय–समयमा सार्वजनिक चासो र बहसको केन्द्र बन्दै आएको छ। विशेषगरी सीमांकन, अतिक्रमण र सीमा व्यवस्थापनका विषयमा दुवै देशबीच विभिन्न तहमा छलफल हुँदै आएको छ। यस्ता विषयको दीर्घकालीन समाधानका लागि आपसी विश्वास, निरन्तर संवाद र कुटनीतिक सक्रियता अपरिहार्य मानिन्छ।