Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२४ घण्टामै १,९२२ चालक कारबाहीमा : मापसेदेखि लागुपदार्थ सेवनसम्म, ट्राफिक प्रहरीको कडा निगरानी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 380
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले व्यापक कारबाही अभियान सञ्चालन गरेको छ । पछिल्लो चौबिस घण्टाभित्र गरिएको विशेष ट्राफिक जाँचका क्रममा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९ सय २२ जना चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार २ रुपैयाँ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १ सय १८ जना चालक कारबाहीमा परेका छन् । त्यसैगरी राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १ सय ९८, रातोबत्ती उल्लङ्घन गर्ने १ सय २६, तीव्र गतिमा सवारी चलाउने १ सय ३१, लेन मिच्ने ७३, सडक फुटपाथ प्रयोग गर्ने ९०, हर्न निषेध उल्लङ्घन गर्ने ९५ तथा एकतर्फी सडकमा सवारी चलाउने १ सय ५ जनालाई कारबाही गरिएको छ ।

यस्तै अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ९ सय ८६ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी र चेकिङ अभियान तीव्र बनाएको बताएको छ ।

प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानूनविपरीत र दण्डनीय अपराध भएको स्मरण गराउँदै यात्रु तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । चालकले मादक पदार्थ सेवन गरेको आशङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन अनुरोध गरिएको छ ।

यसैबीच, काठमाडौँको थली क्षेत्रमा गरिएको विशेष ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली, लागुऔषध नियन्त्रण ब्यूरो, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोली परिचालन गरिएको थियो ।

विशेष परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेर सवारी चलाइरहेका पाँच जना चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा दुई जना बस चालक, एक जना मिनी ट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँचका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए । उनले सडक सुरक्षामा लापरवाही गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइने चेतावनीसमेत दिए ।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि मापसे तथा लागुपदार्थ सेवनविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४