ललितपुर । ललितपुर महानगरपालिका ले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
महानगरपालिकाका अनुसार वैशाख १६ गते पर्ने ‘नरिवल खसाल्ने’ दिन ललितपुरवासीहरूको उल्लेख्य सहभागिता रहने भएकाले महानगरपालिका र मातहतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् । महानगर प्रमुख चिरिबाबु महर्जन ले धार्मिक परम्परा, सांस्कृतिक पहिचान र जनसहभागितालाई सम्मान गर्दै बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन् ।
रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाकै सबैभन्दा पुराना र महत्वपूर्ण जात्रामध्ये एक मानिन्छ । प्रत्येक वर्ष पुल्चोकबाट सुरु हुने यो रथयात्रामा भगवान् मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै अन्ततः लगनखेल पुर्याइन्छ ।
परम्पराअनुसार रथ लगनखेल पुगेपछि विशेष पूजा तथा विधि सम्पन्न गरिन्छ । त्यसको भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने चलन रहिआएको छ । उक्त नरिवल खसाल्ने क्षणलाई शुभ मानिने विश्वास रहिआएको छ भने यसलाई हेर्न र सहभागी हुन हजारौं श्रद्धालुहरू भेला हुने गर्दछन् ।
‘नरिवल खसाल्ने’ परम्परा केवल धार्मिक अनुष्ठान मात्र नभई स्थानीय समुदायको सांस्कृतिक एकता, आस्था र पहिचानसँग गहिरो रूपमा जोडिएको छ । यस अवसरमा विभिन्न जात्रा, पूजा, तथा सांस्कृतिक गतिविधिहरू समेत आयोजना हुने गरेका छन् ।
महानगरपालिकाले विगत तीन वर्षदेखि यस दिनलाई स्थानीय बिदाका रूपमा घोषणा गर्दै आएको छ । यसले एकातर्फ सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुगेको छ भने अर्कोतर्फ नागरिकलाई जात्रामा सहज रूपमा सहभागी हुने वातावरण सिर्जना गरेको महानगरको भनाइ छ ।
यस वर्ष पनि जात्रामा ठूलो संख्यामा भक्तजन तथा स्थानीयवासी सहभागी हुने अपेक्षा गरिएको छ । भीड व्यवस्थापन, सुरक्षा तथा सार्वजनिक सेवाको सहज सञ्चालनलाई ध्यानमा राख्दै महानगरपालिकाले आवश्यक तयारीसमेत अघि बढाएको जनाएको छ ।
रातो मच्छिन्द्रनाथ रथजात्रा विशेषगरी वर्षा, सहकाल र समृद्धिको कामना गर्दै मनाइने परम्परागत पर्व हो । यसले ललितपुरको सांस्कृतिक जीवनलाई जीवन्त बनाउँदै आएको छ र पुस्तौँदेखि निरन्तरता पाइरहेको छ ।