काठमाडौं । कमजोर पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिक बदलीसँगै वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली सक्रिय रहेकाले देशका केही भूभागमा मौसममा परिवर्तन देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाले दिएको जानकारीअनुसार अन्य प्रदेशका तराई क्षेत्रहरूमा भने मौसम सामान्यतया सफा रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली कायम रहनेछ। काठमाडौं उपत्यकामा पनि आज आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहने जनाइएको छ भने पहाडी तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
मौसमविद्हरूले वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।