काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ।
भेटका क्रममा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन्। साथै, ऋण दुरुपयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्रीले छोटो समयमै परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै समस्याको स्पष्ट बुझाइसहित समाधानमुखी कदम चाल्न सुझाव दिएका छन्। आर्थिक विकासलाई गति दिन ठोस नीतिगत सिफारिस ल्याउन पनि गभर्नरसँग अपेक्षा गरिएको जनाइएको छ। नियुक्ति वा अन्य विषयमा चिन्ता नगरी निर्धक्क रूपमा काम गर्न उनले प्रेरित गरेका छन्।
यसैबीच, अमेरिका–इजरायल–इरानबीचको सम्भावित द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
जवाफमा गभर्नर पौडेलले सरकारको खर्च कार्यान्वयनमा देखिएका चुनौतीहरू ठूला पूर्वाधार आयोजनामार्फत समाधान गर्न सकिने बताएका छन्। उनका अनुसार काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने तथा काठमाडौं–पोखरा फास्टट्र्याक परियोजना अघि बढाउने सम्भावना रहेको छ।
यस्ता आयोजनामा पहिलो वर्षमै २०–३० अर्ब रुपैयाँसम्म खर्च गर्न सकिने उल्लेख गर्दै उनले रेमिटेन्स र वित्तीय सूचकांकलाई आधार बनाएर सार्वजनिक वित्त सुधारमा राष्ट्र बैंकले सहयोग गर्ने बताए। आगामी २–३ वर्षभित्र ठूला परियोजना सम्पन्न गर्न सके उल्लेखनीय आर्थिक उपलब्धि हासिल गर्न सकिने विश्वाससमेत उनले व्यक्त गरेका छन्।