काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार मन्त्रालयहरू सम्हालेका मन्त्रीहरूसँग छुट्टाछुटै ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त बैठकमा मन्त्रीहरूलाई काम गर्दा परेको अप्ठेरो वा चुनौतीहरू सिधै रिपोर्ट गर्न निर्देशन दिइएको थियो।
एक मन्त्रीले बैठकपछि बताएअनुसार, “प्रधानमन्त्रीले हामीलाई आज बोलाएर काम कस्तो भइरहेको छ भनेर सोध्नुभयो। केही अप्ठेरो परेको भए मलाई भन्नु। राम्रो काम गर्नु भन्नुभयो। सय दिनभित्र परिणाम देखिनुपर्ने भएकाले अलमल नगरी फटाफट काम गर्नुपर्छ भन्नुभयो।”
प्रधानमन्त्रीले सबै मन्त्रीलाई मन्त्रालयको अवस्था र कर्मचारी सहयोगबारे जानकारी लिन र जिम्मेवारीमा पाएको कामलाई प्राथमिकता दिँदै काम अघि बढाउन निर्देशन दिएका छन्।
शुक्रबार प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले शपथ लिएका थिए र सोही दिन पदबहाली गरेका थिए। त्यही दिनको मन्त्रिपरिषद् बैठकले सयवटा शासकीय सुधारको कार्यसूची पारित गरेको थियो।
प्रधानमन्त्रीको निर्देशनअनुसार, कर्मचारी संयन्त्रबाट असहयोग नहोस् भनेर दैनिक ब्रिफिङ लिइने व्यवस्था गरिएको छ।
आइतबार सबै मन्त्रीहरूले मन्त्रालय र कर्मचारीको अवस्था बुझिसकेका छन् र सोमबारदेखि मन्त्रालयगत काम अघि बढाउने तयारीमा छन्।