भर्जिनिया, अमेरिका । अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा भर्जिनियाको मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा भएको भयंकर घटनाको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ। भिडिओमा भर्खरै नेपालबाट अमेरिका गएका छत्र थापा ले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापा माथि छुरा प्रहार गरेको दृश्य कैद भएको छ।
प्रहरी प्रमुख केभिन डेभिसले उक्त घटनास्थललाई ‘रक्तपातपूर्ण’ भनेका छन्। प्रहरीका अनुसार, घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता काममा जाने तयारीमा थिए। सन्तोषले पार्किङमा कार सफा गर्दै गर्दा अपार्टमेन्ट भित्रबाट चिच्याउने आवाज र ठूलो हल्ला सुनिसकेपछि भित्र दौडे।
सन्तोषले बाल्कोनीको ढोकाबाट भित्र प्रवेश गर्दा एक वर्षको छोरा एक्लै रोइरहेको र श्रीमती बिन्दा थापा रगताम्मे अवस्थामा ढोकातिर भागिरहेको देखे। ममताले अन्तिम पटक चिच्याउँदै भनेकी थिइन्, “उसले हामीलाई माऱ्यो, उसले हामीलाई माऱ्यो।”
सन्तोषले आफ्ना ससुरा छत्र थापा ले १० इन्च लामो धारिलो मासु काट्ने हतियार जस्तो देखिने हतियारले सासू बिन्दा थापा माथि अन्धाधुन्ध प्रहार गरेको दृश्य देखेका थिए। त्यसपछि छत्रले सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए।
भिडियोमा देखिएको छ कि एक युवा प्रहरी अधिकारी घटनास्थलमा पुग्दा ममता थापा बाहिरै रगतमा लतपतिएको अवस्थामा भेटिन्छिन्। प्रहरीले उनलाई सिढीमा आउन आग्रह गर्दा उनी हलचल गर्न सक्ने अवस्थामा थिइनन्।
भित्र बच्चाको रोएको आवाज सुनेर प्रहरीले ढोका फोडेर प्रवेश गर्दा छत्र थापाले सन्तोष बस्नेतलाई भुइँमा लडाएर छुरा प्रहार गरिरहेका थिए। प्रहरीले पटक-पटक “हतियार फाल” भन्दै चेतावनी दिएको भए पनि छत्रले आक्रमण रोकेनन्। अन्ततः प्रहरीले आफ्नो सुरक्षा सुनिश्चित गर्न गोली चलाउनुपर्यो, र छत्र घटनास्थलमै मृत्यु भएका थिए।
यो घटना परिवारिक हिंसा र अप्रत्याशित मानसिक स्वास्थ्य संकटका खतराहरू उजागर गर्ने खालको ठहरिएको छ।