काठमाडौं । संघीय संसद् सचिवालय ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरेको छ। सचिवालयले विशेष सूचना जारी गर्दै सबै निर्वाचित जनप्रतिनिधिहरूलाई बिहीबार दिउँसो २ बजे सिंहदरबार मा उपस्थित हुन आह्वान गरेको हो।
सचिवालयका अनुसार शपथ ग्रहण समारोह सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ। कार्यक्रम व्यवस्थित बनाउन सांसदहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ।
शपथ कार्यक्रममा सहभागी हुने सांसदहरूलाई औपचारिक पोसाक वा आ–आफ्नो सांस्कृतिक तथा जातीय पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ। यसले संसद्मा नेपालको बहुसांस्कृतिक र बहुभाषिक विविधताको झल्को दिने विश्वास सचिवालयको छ।
साथै, नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। इच्छुक सांसदहरूले शपथको विवरण सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा तीन दिनअघि नै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा वा आधिकारिक इमेलमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
शपथका क्रममा सांसदहरूले निर्वाचन आयोग बाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको तस्बिर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे द्वारा जारी सूचनालाई देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित सांसदहरूसम्म पुर्याइएको छ। संसद्को नयाँ कार्यकालको सुरुवातसँगै हुने यो शपथ ग्रहण कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने तयारी तीव्र पारिएको छ।
