काठमाडौं । आसन्न २१ फागुनको निर्वाचनका लागि मतदान गर्न प्रवासमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि पूर्व–पश्चिमका प्रमुख सीमानाकासम्म घर फर्कने नेपालीको बाक्लो लर्को देखिन थालेको छ। काँधमा झिटीगुन्टा र मनमा ‘अब त देशमै केही होला कि’ भन्ने मधुरो आशा बोकेर उनीहरू मतदानका लागि आइपुगेका हुन्।
नाकामा दसैँ–तिहारझैँ रौनक
निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा सुदूरपश्चिमको त्रिनगर नाका र गड्डाचौकी नाका, पूर्वको काँकडभिट्टा नाका, विरगञ्ज नाका तथा बेलहिया नाका बाट दैनिक हजारौँ नेपाली भित्रिरहेका छन्।
यता काठमाडौंस्थित विमानस्थलमा पनि जापान, युके, युरोप र खाडी मुलुकबाट चुनावकै लागि छुट्टी मिलाएर आउनेहरूको चाप बढेको छ। ती सबैको साझा अपेक्षा छ—“अब बन्ने सरकारले स्वदेशमै रोजगारी सिर्जना गरोस् र आगामी पुस्ताले अर्काको देशमा पसिना बगाउनु नपरोस्।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
‘जेनजी’ आन्दोलनपछि बदलिएको मनोविज्ञान
गत २३–२४ भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि देशको राजनीतिक तथा सामाजिक परिवेश बदलिएको बुझाइ प्रवासी नेपालीमा देखिन्छ। उक्त आन्दोलनले स्थापित दलहरूलाई सच्चिन दबाब दिएको र यसपालिको निर्वाचनले नयाँ दिशातर्फ लैजान सक्छ भन्ने विश्वासले धेरै युवा मतदाता आकर्षित भएका छन्।
युवाको आशा: “काम गर्न सक्ने मान्छेलाई भोट”
बझाङका २२ वर्षीय सुनील बोहरा १५ वर्षकै उमेरमा भारत पसेका थिए। उनी भन्छन्, “देशमा केही परिवर्तन होला कि भनेर दुई हप्ताको छुट्टी लिएर आएको हुँ। पार्टीभन्दा पनि काम गर्न सक्ने मान्छेलाई भोट दिन्छु।”
पश्चिमी नाका त्रिनगरमा कार्यरत सुरक्षाकर्मीका अनुसार दैनिक करिब दुई हजार नेपाली स्वदेश भित्रिरहेका छन्। तीमध्ये धेरैजसो मुम्बई, केरला, पुना र गोरखपुरमा कुक, सुरक्षा गार्ड र मजदुरी गर्दै आएका छन्।
पूर्वको काँकडभिट्टामा पनि दार्जिलिङ, सिक्किम र सिलिगुढीमा श्रम गरिरहेका नेपाली समूह–समूहमा फर्किरहेका छन्। अछामका झुमाकान्त ढुंगाना २० महिनापछि पुनाबाट २० जनाको टोली लिएर भोट हाल्न आइपुगेका छन्। “नयाँले केही गर्छन् कि भन्ने झिनो आशा छ,” उनी भन्छन्।
फर्कने र बाहिरिनेको दोहोरो दृश्य
एकातिर मतदानका लागि हजारौँ नेपाली भित्रिरहेका छन् भने अर्कोतिर दैनिक सयौँ युवा रोजगारीकै खोजीमा बाहिरिइरहेका छन्। त्रिनगर र काँकडभिट्टा जस्ता नाकाबाट छाक टार्न भारत जाने युवाको संख्या पनि उत्तिकै छ।
गृह मन्त्रालयले भने निर्वाचनका लागि घर फर्कने नेपालीलाई सहजीकरण गर्न सशस्त्र प्रहरीलाई विशेष निर्देशन दिएको जनाएको छ।
मतदाताको सन्देश: अब त बदलियोस् अवस्था
हरेक चुनावमा राजनीतिक दलहरूले ‘गरिबी निवारण’ र ‘रोजगारी’ लाई घोषणापत्रको मुख्य एजेन्डा बनाउने गरेका छन्। तर व्यवहारमा परिवर्तन नदेखिँदा नागरिकमा निराशा बढ्दो छ।
यसपालिको २१ फागुनको निर्वाचनलाई प्रवासी नेपालीले केवल मतदानको प्रक्रिया नभई आफ्ना बाध्यकारी वैदेशिक यात्राको अन्त्य गर्ने सम्भावित अवसरका रूपमा लिएका छन्।
अब बन्ने सरकारले यी झिटीगुन्टा बोकेर आएका आशावादी आँखाहरूलाई कत्तिको न्याय दिन्छ—यही नै अहिलेको सबैभन्दा ठूलो प्रश्न बनेको छ।