काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले शनिबारलाई शनिदेवको पूजा–आराधनाको विशेष दिनका रूपमा मान्ने गरेका छन् । धार्मिक विश्वासअनुसार शनिदेवलाई प्रसन्न पार्न सके जीवनमा सकारात्मक ऊर्जा, सफलता तथा शुभफल प्राप्त हुने जनविश्वास रहिआएको छ ।
धार्मिक ग्रन्थहरूमा शनिदेवलाई कर्मअनुसार फल दिने देवताको रूपमा वर्णन गरिएको छ । शनि भगवान सूर्यका पुत्र मानिन्छन् भने यमराज उनका भाइ र यमुना उनकी बहिनी रहेको धार्मिक मान्यता छ । कडा परिश्रम, अनुशासन र धर्ममार्गमा चल्ने व्यक्तिलाई शनिदेवले सदैव साथ दिने विश्वास गरिन्छ ।
धार्मिक आस्थाअनुसार शनिबार शनिदेवको व्रत बस्नु, पूजा–आराधना गर्नु तथा दान–पुण्य गर्नु शुभ मानिन्छ । विशेषगरी तेल दान गर्दा शनिदेव शान्त हुने विश्वास छ । त्यसैगरी कालो तिल दान गर्नु, छालाका जुत्ता वा चप्पल दान गर्नु पनि धार्मिक दृष्टिले पुण्य कार्य मानिन्छ ।
शनिबार पिपलको रुखको पूजा गर्ने तथा पानी चढाउने चलन पनि पुरानै परम्परा हो । कतिपय धार्मिक मान्यतामा पिपलको पूजा गर्दा पारिवारिक सुख, शान्ति र आर्थिक उन्नति हुने विश्वास गरिन्छ ।
त्यस्तै, शमीको रुखको पूजा गर्ने परम्परा पनि रहेको छ । नियमित रूपमा शमीको पूजा गर्दा नकारात्मक प्रभाव कम हुने र सकारात्मक ऊर्जा बढ्ने विश्वास गरिन्छ । शनिबार सर्सुको तेलको दीप बालेर हनुमान चालीसाको पाठ गर्दा पनि शनिदेवको कृपा प्राप्त हुने धार्मिक मान्यता छ ।
धार्मिक आस्थासँगै अनुशासन, मेहनत र सदाचारलाई जीवनमा अपनाउने सन्देश पनि शनिदेवको पूजासँग जोडिएको धार्मिक विद्वानहरू बताउँछन् । श्रद्धा र विश्वासका साथ गरिएको पूजा, दान तथा सकारात्मक कर्मले व्यक्तिको मानसिक शान्ति र आत्मबल बढाउने विश्वास गरिएको छ ।