काठमाडौं । नेपाली कांग्रेस ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । पार्टीले निर्वाचनको तयारीलाई तीव्र बनाउँदै मतदातामाझ आफ्ना नीति, कार्यक्रम तथा प्राथमिकताहरू प्रस्तुत गर्न प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको जनाएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसे का अनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम दिउँसो २ः०० बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, उम्मेदवारहरू, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहने बताइएको छ ।
कांग्रेसले प्रतिज्ञापत्रमार्फत आर्थिक सुधार, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय, शिक्षा–स्वास्थ्य सुधार, पूर्वाधार विकास तथा संघीयताको प्रभावकारी कार्यान्वयनजस्ता विषयलाई प्राथमिकतामा राख्ने तयारी गरेको स्रोतले जनाएको छ । साथै युवा रोजगारी, कृषि आधुनिकीकरण, उद्योग–व्यवसाय प्रवर्द्धन, सूचना प्रविधि विकास र वातावरण संरक्षणका विषयलाई पनि प्रतिज्ञापत्रमा विशेष रूपमा समेटिने अपेक्षा गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचन नजिकिँदै जाँदा दलहरू चुनावी प्रचार, उम्मेदवार छनोट तथा नीति सार्वजनिक गर्ने कार्यमा व्यस्त भएका छन् । कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमार्फत मतदातालाई स्पष्ट नीति र कार्यक्रम प्रस्तुत गरेर जनविश्वास जित्ने लक्ष्य राखेको जनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन प्रतिज्ञापत्रले दलको आगामी कार्यदिशा र प्राथमिकता झल्काउने भएकाले मतदाताका लागि महत्त्वपूर्ण दस्तावेज मानिन्छ । यसले चुनावपछि सरकार गठन भएमा नीति कार्यान्वयनको आधारसमेत तय गर्ने भएकाले यसको प्रभाव दीर्घकालीन हुने विश्वास गरिन्छ ।
यसैबीच, निर्वाचन आयोगले पनि स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन आग्रह गरेको छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि देशभर तीव्र बनेको छ भने मतदातामा पनि चुनावी चासो बढ्दै गएको देखिन्छ ।
