काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार मंगलबार भगवान श्रीगणेशको पूजा, अर्चना तथा व्रत बस्दा विशेष लाभ प्राप्त हुने विश्वास रहेको छ । कुनै पनि शुभ कार्यको सुरुवात अघि सर्वप्रथम विघ्नहर्ता भगवान गणेशको पूजा गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ । मंगलबारलाई भगवान श्रीगणेशको प्रिय दिन मानिने भएकाले यस दिन शुद्ध मन, आस्था र श्रद्धासाथ पूजा गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार गणेश पूजाको विधि १६ चरणमा विभाजन गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, दक्षिणा, आरती तथा परिक्रमा समावेश छन् । पूजा गर्दा मनलाई एकाग्र बनाएर संकल्प लिनुपर्ने धार्मिक विश्वास छ ।
पछिल्ला वर्षहरूमा मंगलबार गणेश पूजा गर्ने भक्तजनहरूको संख्या बढ्दै गएको देखिन्छ । धेरै श्रद्धालुहरू व्रत बस्ने, लड्डु चढाउने तथा मन्त्र जप गर्ने चलन बढ्दै गएको छ ।
मंगलबार बर्जित कार्यबारे धार्मिक मान्यता
धर्मशास्त्रअनुसार मंगलबार केही कार्य गर्न नहुने विश्वास पनि रहेको छ । यस दिन कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा बुद्धि भ्रमित हुने, माछा वा मासु सेवन गर्दा आर्थिक हानि हुने तथा मदिरा सेवन गर्दा क्रोध वृद्धि हुने धार्मिक मान्यता छ ।
गणेशजी र लड्डुको पौराणिक कथा
पद्यपुराणमा उल्लेख भएअनुसार एकपटक पार्वतीदेवीलाई देवताहरूले अमृतबाट बनेको दिव्य लड्डु दिएका थिए । उक्त लड्डु देखेर कुमार र गणेश दुवैले आमा पार्वतीसँग माग गरेपछि पार्वतीले जो पहिले सबै तीर्थ भ्रमण गरेर आउँछ उसैलाई लड्डु दिने बताउनुभयो ।
कुमार मयुर चढेर तीर्थ भ्रमणमा लागे भने गणेशले माता–पितालाई नै सबै तीर्थ समान ठानी उहाँहरूको परिक्रमा गरे । यसलाई श्रेष्ठ मानेर पार्वतीले गणेशलाई लड्डु अर्पण गर्नुभयो । त्यसैले गणेशजीलाई लड्डु अत्यन्त प्रिय मानिन्छ र यसले माता–पिताप्रतिको भक्तिको प्रतीकसमेत जनाउँछ ।
गणेश भगवानका विशेषता
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुने भएकाले गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन् । उहाँलाई ‘विघ्नेश्वर’ अर्थात् विघ्नबाधा हटाउने देवता र ‘विनायक’ अर्थात् सर्वश्रेष्ठ नायक पनि भनिन्छ । हिन्दू धर्ममा उहाँलाई मंगलदाता तथा गुणका देवताको रूपमा पूजिने गरिन्छ ।
गणेश भगवानलाई प्रसन्न पार्ने ११ मन्त्र
धार्मिक विश्वासअनुसार निम्न मन्त्र जप गर्दा भगवान गणेश चाँडै प्रसन्न भई कृपा गर्ने विश्वास गरिन्छः
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः
धार्मिक आस्था अनुसार मंगलबार भगवान गणेशको पूजा, व्रत र मन्त्रजपले जीवनमा सकारात्मक ऊर्जा, सफलता र मानसिक शान्ति प्राप्त हुने विश्वास रहिआएको छ ।