काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा गएराति भएको दर्दनाक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। विवाह समारोहमा सहभागी जन्ती बोकेर बझाङ फर्किँदै गरेको बस सडकबाट करिब दुई सय मिटर तल खसेपछि ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७ भौनीबाट बझाङको सुनकुडातर्फ फर्किने क्रममा बढ्गाउँ मोडमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना बिहीबार राति भएको हो।
प्रहरीका अनुसार दुर्घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। मृतक सबैको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
मृतकको नामावली
१. बिसनदत्त जोशी (१७) – बित्थडचिर–७, बझाङ
२. दीपक जोशी (२७) – बित्थडचिर–७, बझाङ
३. किसनदत्त जोशी (४५) – बित्थडचिर–७, बझाङ
४. केशवराज जोशी (४०) – बित्थडचिर–७, बझाङ
५. अशोकराज जोशी (१३) – बित्थडचिर–७, बझाङ
६. बसन्त जोशी (३५) – बित्थडचिर–७, बझाङ
७. विष्णुदत्त जोशी (४१) – बित्थडचिर–७, बझाङ
८. नरेशराज जोशी (४२) – बित्थडचिर–७, बझाङ
९. केशवराज भट्ट (२६) – केदारस्युर–७, बझाङ
१०. मोहनदेव भट्ट (६०) – केदारस्युर, बझाङ
११. बसन्तराज रतला (४०) – जयपृथ्वी नगरपालिका–७, बझाङ
१२. सुशील जोशी (१४) – पुर्चौडी नगरपालिका–७, बैतडी
१३. एक जना (पहिचान खुल्न बाँकी, अस्पतालमा मृत्यु)
दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने थप ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी प्रहरी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए।
घटनापछि स्थानीयवासी, प्रहरी तथा सुरक्षाकर्मीले रातभर उद्धार कार्य सञ्चालन गरेका थिए। अप्ठ्यारो भौगोलिक अवस्था, अँध्यारो र सडकको जोखिमपूर्ण मोडका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
विवाह सम्पन्न गरी फर्किने क्रममा भएको यो दुर्घटनाले विवाहको खुसीलाई शोकमा परिणत गरेको छ। बेहुला–बेहुली भने अर्को गाडीमा रहेका कारण सकुशल रहेको प्रहरीले जनाएको छ, तर जन्तीका सदस्य गुमाउँदा परिवार तथा आफन्तहरू गहिरो शोकमा डुबेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा अनियन्त्रित भई सडकबाट तल खसेको अनुमान गरिएको छ। चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनाग्रस्त बस पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले सुदूरपश्चिम क्षेत्रमा सडक सुरक्षाको अवस्थाबारे फेरि प्रश्न उठाएको छ। साँघुरा र जोखिमपूर्ण ग्रामीण सडक, सवारीको अवस्था तथा चालकको सावधानीबारे सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने स्थानीयवासीले माग गरेका छन्। दुर्घटनाबाट पीडित परिवारलाई राहत तथा घाइतेको उपचारमा सरकार र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने आवाज समेत उठिरहेको छ।