काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रमा भएको करोडौँ मूल्य बराबरको सुन चोरी घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिका–६ टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरी फरार रहेका प्रेम थारु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ बजेतिर नेपालगञ्ज घर भएका थारु उक्त घरमा प्रवेश गरेका थिए । घरका सदस्यहरू पाँचौँ तला तथा छतमा घाम तापिरहेको मौका पारेर उनी चौथो तलामा पुगेका थिए । ढोकाको लक फुटाएर भित्र छिरेका उनले करिब ३० तोला सुन, चाँदीका गहना र बहुमूल्य ‘सि-माला’सहितका सामग्री झोलामा राखेर फरार भएका थिए ।
दिउँसो करिब २ बजेतिर कोठामा पुग्दा ढोका फुटेको र गहना हराएको थाहा पाएपछि घरधनीले तत्काल प्रहरीलाई खबर गरेका थिए । घरमा डेरावालहरूको आवतजावत भइरहेकै समयमा दिउँसै यस्तो ठूलो चोरी भएपछि स्थानीयमा सुरक्षा चिन्ता बढेको थियो ।
प्रहरीको अनुसन्धान र कारबाही
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान तीव्र बनाएको थियो । अनुसन्धानकै क्रममा अभियुक्तको पहिचान भएपछि उनको खोजी कार्य बढाइएको थियो ।
प्रहरीका अनुसार नागार्जुन नगरपालिका–महांकाल क्षेत्रमा लुकिरहेको अवस्थामा उनलाई फेला पारिएको थियो । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । गोली लागेर खुट्टामा घाइते भएका थारुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानले थारु पेशेवर चोरी घटनामा संलग्न रहेको संकेत गरेको प्रहरीले जनाएको छ । उनीमाथि यसअघि काठमाडौँकै भोटेबहाल क्षेत्रमा भएको करिब २५ तोला सुन चोरी घटनामा पनि संलग्न रहेको आशङ्का गरिएको छ ।
प्रहरीले चोरी भएका सम्पूर्ण सामानको अवस्थाबारे खोजी तथा सम्भावित गिरोहबारे थप अनुसन्धान जारी राखेको छ । दिउँसै मानिसको उपस्थिति भएकै घरमा ठूलो चोरी हुनुले नागरिकलाई सचेत रहन प्रहरीको आग्रह समेत छ ।