काठमाडौं । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाले यही माघ महिनाको तेस्रो सातादेखि देशव्यापी रूपमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई एचपिभी खोप दिइनेछ। कक्षा ६ मा पढ्ने ११ र १२ वर्ष उमेर समूहका छात्राले पनि खोप पाउने व्यवस्था गरिएको छ। फागुनको पहिलो हप्तासम्म लक्षित सबै बालिका तथा किशोरीलाई खोप लगाइसक्ने तयारी रहेको उनले जानकारी दिए।
डा. गौतमका अनुसार खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने काम भइरहेको छ। साथै, गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका बालिकालाई पनि यस वर्ष खोप लगाइनेछ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाएको थियो।
यस वर्ष करिब तीन लाख ५० हजार बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने लक्ष्य राखिएको छ। उक्त खोप ‘भ्याक्सिन एन्ड इम्युनाइजेसनका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने तथ्यांक रहेको छ। यस क्यान्सरको प्रमुख कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले जोखिम न्यूनीकरणका लागि एचपिभी खोप प्रभावकारी मानिँदै आएको छ।