Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आहा ! फुतफुते झरना यस्तो अबस्थामा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ८ २०८२
  • 3.8K
    SHARES

म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृत्रिम नालीजस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको नीलो ताल ।

झट्ट हेर्दा ढुङ्गेधाराजस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन् ।

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको काठमाडौँका सुझाव आचार्यले बताए । “अलौकिक र प्राकृतिक फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो”, उनले भने, “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझैँ महसुस भयो ।”

काठमाडौँका लक्ष्मण मर्हजनले फुतफुतेलाई अमेरिकाको ‘नाग्रा फल्स’ सँग तुलना गरे । फुतफुते झरनाको वेसान आवाजमा रमाउँदा जलको मोतीमा डुबेको उनले अनुभव सुनाए । ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ ।

“सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ”, काभ्रेकी अनुषा तामाङले भनिन्, “झरनाको फेदीमा रहेको नीलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ ।” अग्लो पहाडबाट सेतो रङमा खस्ने झरनाको फेदीमा बनेको नीलो रङको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको छ । नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ ।

झरना र फेदीमा रहेको पानीको तलाउमा तस्बिर र भिडियो खिचेर पदयात्रीहरू घण्टौँ रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर तयार भएको यो पदमार्ग नयाँ गन्तव्यका रूपमा विकास भएको छ । दसैँयता दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएका मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए ।

“सामाजिक सञ्जाल ‘फेसबुक’, ‘टिकटक’ को फोटो भिडियो र सञ्चारमाध्यममार्फत फुतफुते झरनाको राम्रो प्रचार भएको छ”, उनले भने, “दुई वर्षअघिसम्म सुनसान फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुन्छ ।” फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक गन्तव्य बनेको छ ।

नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । धेरैजसो पर्यटक फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट, भुसकेट हुँदै अन्नपूर्ण आधार शिविरतर्फ लाग्छन् । हिँड्न नसक्नेहरू भने फुतफुते झरना हेरेर फर्कन्छन् ।

अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रयस्थल र सार्वजनिक शौचालय बनाएको अध्यक्ष भारतकुमार पुनले बताए । फुतफुते झरनालगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरेको अध्यक्ष पुनले बताए ।

नारच्याङका बासिन्दाले त्यहाँ अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । झरनाको फेदीमा रहेको पोखरीमुनि काठको झोलुङ्गे पुल छ । पुलको पारि अर्को सानो झरना छ । दायाँ र बायाँ झरना हेर्दै पुल तर्न सकिन्छ । झरनाको नजिकै पोखरीको छेउमै पुगेर र पुल नजिकको ढुङ्गामाथि बसेर अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ । दुर्घटनाको जोखिम भएकाले तलाउको नजिकै नजान र पौडी नखेल्न पर्यटकलाई आग्रह गरिएको छ ।

झरना अवलोकनस्थललाई सुरक्षित र झोलुङ्गे पुलको स्तरोन्नतिको आवश्यकता देखिएको गतहप्ता मौरिस हर्जोग पदमार्गको भ्रमण गरेका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । ‘गुराँसे डाँडादेखि फुतफुते झरनासम्म पुग्ने पदमार्ग निर्माण, झोलुङ्गे पुल स्तरोन्नति र सुरक्षित दृश्यावलोकन गर्ने ठाउँको आवश्यकता देखियो’, उनले भने, ‘फुतफुतेलगायत मौरिस हर्जोग पदमार्गको समग्र पूर्वाधार निर्माण र प्रवर्द्धनमा सरकारसँग समन्वय गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४