काठमाडौं । पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले इटहरीबाट प्रियंका परियार र असिम अन्सारीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई मंगलबार बेलुकी इटहरी–९ स्थित रंगशाला चोकबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि बुधबार बिहान १०ः३० बजेको हवाई उडानमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि घटनाको प्रकृति, मन्दिरको निषेधित क्षेत्रमा कसरी प्रवेश गरे भन्ने विषय तथा सार्वजनिक भएको भिडियोबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको देखिने भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि पशुपतिनाथ मन्दिरको प्रवेशसम्बन्धी नियम उल्लंघन भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा र विरोध भएको थियो।
पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको व्यवस्था छ। यही व्यवस्थाविपरीत गैरहिन्दु व्यक्ति मन्दिरको भित्री क्षेत्रमा पुगेको देखिएपछि घटनालाई गम्भीर रूपमा लिइएको हो।
भिडियोमा उक्त जोडी मन्दिरको भित्री प्रवेशद्वारसम्म पुगेको देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएका थिए। घटनाबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरीमा जाहेरी दिएको थियो।
विवाद बढ्दै गएपछि प्रियंका र असिमले सामाजिक सञ्जालमार्फत अर्को भिडियो सार्वजनिक गर्दै आफूहरूको कुनै खराब नियत नभएको दाबी गरेका छन्। उनीहरूले पशुपतिनाथ मन्दिरको धार्मिक आस्था तथा परम्परालाई अपमान गर्ने उद्देश्य नरहेको बताएका छन्।
सार्वजनिक भिडियोमा प्रियंकाले आफूहरू गेटबाट भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर तत्कालै बाहिर पठाएको बताएकी छन्। उनले घटनामा पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डहरूको कुनै गल्ती नरहेको दाबीसमेत गरेकी छन्।
उनका अनुसार आफूहरू मन्दिरको भित्री भागमा लामो समय बसेका थिएनन् र सुरक्षाकर्मीले देख्नेबित्तिकै बाहिर पठाएका थिए। यद्यपि घटनासम्बन्धी वास्तविक अवस्था, प्रवेशको उद्देश्य र भिडियोमा देखिएको गतिविधिबारे प्रहरीले अनुसन्धानपछि आवश्यक निष्कर्ष निकाल्ने जनाएको छ।
घटनापछि पशुपतिनाथ मन्दिरको सुरक्षा व्यवस्था र प्रवेशसम्बन्धी नियमको कार्यान्वयनबारे समेत पुनः चर्चा सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील क्षेत्र भएकाले पशुपति क्षेत्रभित्र लागू नियम पालना गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिँदै आएका छन्।
पक्राउ परेका दुवै जनालाई काठमाडौं ल्याइएपछि घटनासँग सम्बन्धित भिडियो, उनीहरूको बयान तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरीको तयारी छ। अनुसन्धानबाट घटनाको वास्तविकता र कानुनी रूपमा के–कस्तो कारबाही आवश्यक हुन्छ भन्ने टुंगो लाग्नेछ।
यस घटनाले सामाजिक सञ्जालमा सार्वजनिक हुने भिडियोको प्रभाव तथा धार्मिकस्थलका संवेदनशील क्षेत्रमा लागू हुने प्रवेशसम्बन्धी नियमको पालना कति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेत पुनः चर्चामा ल्याएको छ।