काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशबाट पार्टीका प्रमुख पदाधिकारी पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। प्रदेशबाट सभापति, उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्दै प्रचारप्रसारलाई समेत तीव्रता दिएका छन्।
लुम्बिनी प्रदेशबाट सभापति पदमा बर्दियाका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै राठौरले सभापति पदका लागि तयारी अघि बढाउनुभएको हो।
त्यस्तै, उपसभापति पदका लागि दाङका नेता दीपक गिरी र अर्घाखाँचीकी नेतृ पुष्पा भुसालले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। दुवै नेताले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापति पदमा आकांक्षा देखाउनुभएको हो।
महामन्त्री पदका लागि भने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पुनः उम्मेदवारी दिने तयारी गर्नुभएको छ। प्रदेश संगठनको नेतृत्व गरिसक्नुभएका पुनले केन्द्रीय पदाधिकारीमा आफ्नो दाबी अघि सार्नुभएको हो।
यसैगरी, सहमहामन्त्री पदमा योगेन्द्र चौधरीले पनि पुनः उम्मेदवारी दिने तयारी गर्नुभएको छ। लुम्बिनीबाट विभिन्न पदमा आकांक्षी नेताहरूले आफ्नो उम्मेदवारीका विषयमा सामाजिक सञ्जाल तथा व्यक्तिगत सचिवालयमार्फत प्रचारप्रसारलाई तीव्र बनाइरहेका छन्।
तर सभापति पदका आकांक्षी किशोरसिंह राठौरका लागि भने महाधिवेशन प्रतिनिधि चयनको विषय चुनौतीका रूपमा देखिएको छ। बर्दिया क्षेत्र नम्बर २ को क्रियाशील सदस्यता विवादका कारण उहाँ अझै महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुन सक्नुभएको छैन।
क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएको बताइएको छ। निर्वाचन समितिको ढिलाइ तथा सुरक्षासम्बन्धी कारणले समेत प्रतिनिधि छनोट प्रक्रिया अघि बढ्न नसक्दा राठौरसँगै केन्द्रीय सदस्य डा. गोपाल दहितलगायतका नेताहरू अन्योलमा पर्नुभएको छ।
कांग्रेसको विधानअनुसार महाधिवेशनमा उम्मेदवारी दिनका लागि आवश्यक प्रतिनिधित्वसम्बन्धी प्रक्रिया पूरा हुनुपर्ने भएकाले राठौरको प्रतिनिधि चयन अहिले महत्वपूर्ण विषय बनेको छ। प्रतिनिधि चयनमा देखिएको विवाद समयमै समाधान हुन नसके उहाँको सभापति पदको उम्मेदवारी प्रक्रियामा समेत प्रभाव पर्न सक्ने अवस्था देखिएको छ।
यसैबीच, नेपाली कांग्रेस निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ।
मनोनयन दर्ताको समय नजिकिँदै जाँदा विभिन्न प्रदेश तथा जिल्लाबाट केन्द्रीय पदाधिकारी र सदस्य पदका आकांक्षी नेताहरूले आफ्नो तयारीलाई तीव्र बनाएका छन्। लुम्बिनी प्रदेशबाट पनि प्रमुख पदाधिकारीमा देखिएको आकांक्षाले कांग्रेसको आगामी नेतृत्व चयनमा प्रदेशको सक्रियता बढेको देखिएको छ।
तर राठौरको हकमा भने प्रतिनिधि चयनसम्बन्धी विवाद समाधान हुनु तत्कालको मुख्य विषय बनेको छ। निर्वाचन समितिले समयमै विवाद समाधान गरी प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउन नसके उम्मेदवारी दर्ताको अन्तिम समयमा थप जटिलता उत्पन्न हुन सक्ने देखिएको छ।
लुम्बिनीबाट सभापतिदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले दाबी प्रस्तुत गरिरहेकाले आगामी महाधिवेशनमा प्रदेशको राजनीतिक उपस्थिति कस्तो रहने भन्ने विषयमा पनि चासो बढेको छ। उम्मेदवारी दर्ता र प्रतिनिधि चयन प्रक्रिया पूरा भएपछि मात्रै लुम्बिनीबाट कुन–कुन नेताले औपचारिक रूपमा प्रतिस्पर्धा गर्ने भन्ने तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।