काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक तथा समितिका प्रतिवेदन प्रस्तुत हुनुका साथै तीमाथि छलफल र निर्णय प्रक्रियालाई अघि बढाउने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा सञ्चालनसँग सम्बन्धित कानुनी व्यवस्था गर्न उक्त विधेयक प्रस्तुत गर्न लागिएको हो ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल अघि बढ्नेछ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ ।
विधि विज्ञान प्रयोगशालाको स्थापना, सञ्चालन तथा संस्थागत व्यवस्थासँग सम्बन्धित उक्त विधेयकमाथि समितिले गरेको अध्ययन तथा छलफलपछि तयार पारिएको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । डिप्लोमा तहको इन्जिनियरिङ शिक्षासँग सम्बन्धित संस्थागत तथा नियमनकारी व्यवस्थाका विषयमा विधेयक केन्द्रित रहेको छ ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने सम्भावित कार्यसूची छ ।
आजको प्रतिनिधिसभा बैठकमा विधेयक तथा समितिका प्रतिवेदनसँग सम्बन्धित विषयले प्राथमिकता पाउने देखिएको छ । संसद्को नियमित कार्यसूचीअनुसार विधेयक प्रस्तुत गर्ने, विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तथा समितिका प्रतिवेदन सदनमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइनेछ ।
यसैबीच, आजै संघीय संसद्का विभिन्न समितिका बैठकसमेत बस्ने भएका छन् । अर्थसमितिको बैठकमा आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने कार्यक्रम छ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ । समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ ।
प्रतिनिधिसभाको बैठक र संसदीय समितिका बैठकहरू एकै दिन सञ्चालन हुने भएकाले आज संघीय संसद्मा विधायन तथा संसदीय कामकारबाही अघि बढ्ने भएको छ ।