काठमाडौँ । नारायणी नदीको पुलमुनि अड्किएको ‘राइनो क्रुज’ सिप निकाल्ने प्रयास आज बिहानदेखि पुनः सुरु गरिएको छ। नदीको तीव्र बहाव, क्रुजको अत्यधिक भार तथा पुलका संरचनामा थप क्षति नपुग्ने गरी उद्धार गर्नुपर्ने चुनौतीका बीच प्राविधिक टोलीले काम अघि बढाएको हो।
क्रुज निकाल्ने क्रममा पुलका पिल्लरमा कमभन्दा कम क्षति पुग्ने गरी प्राविधिक तयारी गरिएको छ। त्यसका लागि आवश्यक उपकरणसहित क्रेन घटनास्थलमा पु¥याएर क्रुजलाई नदीबाट बाहिर निकाल्ने योजना बनाइएको छ। घटनास्थलसम्म क्रेन लैजान सहज होस् भनेर दुईवटा एक्स्काभेटरको प्रयोग गरी हिजो रातिसम्म पहुँचमार्ग निर्माण गरिएको थियो।
प्राविधिक टोलीले क्रुज निकाल्न दुईवटा विकल्प अघि सारेको छ। पहिलो विकल्पअनुसार क्रुजलाई सिंगै अवस्थामा तानेर नदीको किनारतर्फ ल्याउने प्रयास गरिनेछ। त्यसरी निकाल्न सम्भव नभए दोस्रो विकल्पका रूपमा क्रुजलाई आवश्यकताअनुसार काटेर टुक्रा–टुक्रा पार्दै नदीबाट हटाउने तयारी गरिएको छ।
करिब ६० टन भार रहेको क्रुजभित्र पानीसमेत भरिएको र नारायणी नदीमा पानीको बहाव तीव्र रहेकाले उद्धार कार्य जोखिमपूर्ण रहेको बताइएको छ। यस्तो अवस्थामा क्रुज तान्दा पुलका पिल्लर तथा अन्य संरचनामा पर्न सक्ने दबाबलाई समेत ध्यानमा राखेर प्राविधिक टोलीले आवश्यक अध्ययन र तयारी गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्रुजको भार, नदीको बहाव र पुलको संरचनात्मक अवस्थालाई ध्यानमा राखेर उद्धार प्रक्रिया अघि बढाइएको हो। उद्धारका क्रममा हतार नगरी प्राविधिक टोलीको सुझाव र सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने बताइएको छ।
क्रुज निकाल्ने कामका लागि घटनास्थलमा आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ। पहुँचमार्ग निर्माण भएपछि क्रेनलाई घटनास्थलसम्म लैजान सहज भएको र त्यसपछि क्रुजलाई सुरक्षित रूपमा तान्ने प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
यसैबीच, क्रुज अड्किएको नारायणी नदीको पुलमा सवारी आवागमनलाई पनि नियन्त्रित गरिएको छ। प्राविधिकको सुझावअनुसार अत्यधिक भार बोकेका सवारी साधनलाई रोक लगाउँदै अन्य सवारी साधनलाई भने नियन्त्रित रूपमा पुलबाट सञ्चालन गर्न दिइएको छ।
पुलको संरचनामा थप क्षति नहोस् र क्रुज निकाल्ने क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सवारी आवागमनमा सावधानी अपनाइएको हो। उद्धार कार्य चलिरहेकाले सम्बन्धित निकायले चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
क्रुजलाई सिंगै अवस्थामा निकाल्न सकिने वा काटेर हटाउनुपर्ने भन्ने विषय घटनास्थलको प्राविधिक अवस्थाअनुसार तय हुनेछ। नदीको बहाव र क्रुजभित्र भरिएको पानीका कारण उद्धार कार्यमा थप चुनौती रहेकाले प्राविधिक टोलीले परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै काम अघि बढाउने जनाएको छ।