काठमाडौं । बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेती अहिले व्यावसायिक कृषिको सम्भावनाको उदाहरण बन्दै गएको छ । कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि नयाँ विकल्पको खोजीमा लागेका इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङले सुरु गरेको ड्रागन फ्रुटखेतीले पछिल्ला वर्षमा उत्पादन र बजार दुवै विस्तार गर्दै गएको हो ।
तीन युवाले कृषि क्षेत्रमा केही नयाँ गर्ने उद्देश्यसहित जनही रु तीन लाख लगानी गर्ने सहमति गरेका थिए । उनीहरूले ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर खेती सुरु गरेका हुन् । उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए ।
कागतीबाट सुरु भएको यात्रा
खेतीको सुरुआत भने ड्रागन फ्रुटबाट भएको थिएन । उनीहरूले सुरुमा करिब एक रोपनी क्षेत्रफलमा ६०० वटा कागतीका बिरुवा रोपेका थिए । तर मस्र्याङ्दी नदी किनारको बलौटे माटोमा कागतीखेतीबाट अपेक्षित उत्पादन र आम्दानी लिन नसकेपछि उनीहरूले नयाँ बालीको विकल्प खोज्न थाले ।
वि.सं. २०७५/७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि इन्द्र घले यसतर्फ आकर्षित भए । नयाँ बालीका रूपमा ड्रागन फ्रुटको सम्भावना देखेपछि उनीहरूले त्यसको खेती सुरु गर्ने निर्णय गरे ।
वि.सं. २०७७ चैतमा तनहुँको दमौलीबाट ड्रागन फ्रुटका बिरुवा ल्याएर ५० वटा पिलरबाट खेती सुरु गरिएको थियो । सुरुआती चरणमा १५–१६ जना मिलेर व्यावसायिक रूपमा खेती गर्ने योजना थियो । तर धेरै जनाबीच व्यवस्थापन र निर्णय प्रक्रियामा कठिनाइ हुनसक्ने देखिएपछि अन्ततः तीन जनाले मात्र खेतीलाई निरन्तरता दिएका हुन् ।
उत्पादनसँगै अन्य बालीको प्रयोग
ड्रागन फ्रुटसँगै उनीहरूले खुर्सानी र तरबुजाखेतीसमेत गरेका छन् । करिब दुई रोपनी क्षेत्रफलमा लगाइएको खुर्सानीबाट पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो । तर मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेतीलाई निरन्तरता दिन नसकिएको इन्द्रले बताए ।
त्यस्तै, तरबुजाखेतीबाट पनि उनीहरूले राम्रो आम्दानी गरेका थिए । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनी क्षेत्रफलमा गरिएको तरबुजाखेती अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।
हरेक वर्ष बढ्दै ड्रागन फ्रुटको उत्पादन
ड्रागन फ्रुटको उत्पादन भने वर्षैपिच्छे बढ्दै गएको छ । वि.सं. २०८० मा करिब एक क्विन्टल उत्पादन भएकोमा २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो ।
यस वर्ष ड्रागन फ्रुटका बिरुवा थप परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए । उत्पादन बढेसँगै आम्दानीको सम्भावना पनि विस्तार हुँदै गएको उनको भनाइ छ ।
हालसम्म ड्रागन फ्रुट बिक्रीबाट करिब रु १२ लाख आम्दानी भइसकेको उनले बताए । उत्पादित ड्रागन फ्रुट प्रतिकिलोग्राम रु ४५० का दरले बिक्री भइरहेको छ ।
जिल्लामा पनि बढ्दै खेती
कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती भइरहेको अनुमान छ । जिल्लामा यसको व्यावसायिक विस्तार भइरहे पनि खेतीको वास्तविक अवस्था र उत्पादनसम्बन्धी आधिकारिक तथ्याङ्क भने अझै संकलन हुन बाँकी रहेको उनले बताए ।
उनका अनुसार पानी नजम्ने र बलौटे प्रकृतिको माटो ड्रागन फ्रुटखेतीका लागि उपयुक्त हुनसक्छ । घरआँगन, टारी तथा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका जग्गामा समेत यसको खेती गर्न सकिने भएकाले जिल्लामा यसको सम्भावना रहेको उनको भनाइ छ ।
मल व्यवस्थापन मुख्य चुनौती
खेतीमा सम्भावना देखिए पनि व्यावसायिक उत्पादनका क्रममा विभिन्न चुनौतीसमेत छन् । इन्द्रका अनुसार ड्रागन फ्रुटखेतीका लागि आवश्यक मलको व्यवस्थापन अहिले प्रमुख समस्या बनेको छ ।
आफ्नै पशुपालनबाट पर्याप्त मल उत्पादन हुन नसक्दा बेँसीसहर र चनौट क्षेत्रबाट मल ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । उत्पादन बढ्दै जाँदा मलको आवश्यकता पनि बढ्ने भएकाले यसको व्यवस्थापनमा थप खर्च हुने गरेको उनको भनाइ छ ।
बारीमै पुग्न थाले ग्राहक
खेती सुरु गरेको प्रारम्भिक समयमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले ड्रागन फ्रुट खरिद गर्ने गरेका थिए । अहिले भने उत्पादन र प्रचार बढेसँगै ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट खरिद गर्न थालेका छन् ।
स्थानीय बजारमा माग बढ्दै गएपछि आगामी दिनमा उत्पादन वृद्धि गरी लमजुङबाहिरका बजारमा समेत ड्रागन फ्रुट पुर्याउने योजना रहेको इन्द्रले बताए ।
रु ३० लाख लगानी, थप विस्तारको तयारी
हालसम्म उक्त खेतीमा करिब रु ३० लाख लगानी भइसकेको छ । पिलर निर्माण, बिरुवा खरिद, सिँचाइ, मल तथा बारी व्यवस्थापनलगायतका काममा लगानी बढ्दै गएको छ ।
तर कृषि क्षेत्रमा आवश्यक कर्जा सहज रूपमा उपलब्ध नहुँदा खेती थप विस्तार गर्न समस्या भइरहेको इन्द्रको गुनासो छ । पर्याप्त लगानी जुटाउन सके उत्पादन क्षेत्र र पिलरको सङ्ख्या बढाउन सकिने उनको भनाइ छ ।
हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती भइरहेको छ । आगामी दिनमा पिलरको सङ्ख्या बढाएर एक हजार पुर्याउने लक्ष्य उनीहरूको छ । गुणस्तरीय उत्पादन गर्दै लमजुङका साथै जिल्लाबाहिरका बजारमा समेत उत्पादन पुर्याउने योजना रहेको इन्द्रले बताए ।
युवाका लागि कृषि उद्यमको सन्देश
कागतीखेतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतका तीन युवाले कृषि क्षेत्रमा नयाँ प्रयोग र सम्भावनाको खोजी गरेका छन् । प्रारम्भिक असफलताबाट निराश नभई बाली परिवर्तन गरेर नयाँ सम्भावना खोजेका उनीहरूको प्रयासले स्थानीय स्तरमै कृषि उद्यम गर्न चाहने युवाका लागि एउटा उदाहरण प्रस्तुत गरेको छ ।
बलौटे माटो, बजारको सीमितता, मल व्यवस्थापन र लगानीको चुनौतीका बीच पनि उत्पादन बढाउँदै लगेका उनीहरूले आगामी दिनमा व्यावसायिक रूपमा खेती विस्तार गर्ने लक्ष्य राखेका छन् । उत्पादन र बजार दुवै विस्तार गर्न सकिए ड्रागन फ्रुट स्थानीय कृषकका लागि वैकल्पिक नगदेबालीका रूपमा विकास हुनसक्ने सम्भावना देखिएको छ ।
बाँझाखेतमा तीन युवाले सुरु गरेको यो प्रयासले खेतीयोग्य जमिनको उपयोगसँगै स्थानीय उत्पादन, रोजगारी र कृषि उद्यमको सम्भावनालाई समेत उजागर गरेको छ । कागतीखेतीबाट अपेक्षित परिणाम नआएपछि नयाँ विकल्प खोज्दै सुरु गरिएको ड्रागन फ्रुटखेती अहिले उनीहरूको मुख्य कृषि उद्यम बनेको छ ।