Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीको महाविपद एक महिना: खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १० २०८३
  • 912
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। गत भदौ १० गते बिहान आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका कतिपय प्रभावित अहिले पनि विभिन्न आश्रयस्थलमा बसिरहेका छन्।

बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण र अन्य आवश्यक सेवा सञ्चालनका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र परिचालित छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र आवश्यक सेवाको पहुँच पुनःस्थापित गर्ने कामसमेत जारी छ।

चार खर्बभन्दा बढीको क्षति

विनाशकारी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

बाढीले निजी आवासदेखि सार्वजनिक संरचना, सडक, पुल, ऊर्जा, कृषि, व्यापार तथा अन्य उत्पादनशील क्षेत्रसम्म व्यापक प्रभाव पारेको छ।

बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। त्यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

ऊर्जा क्षेत्रमा समेत बाढीको ठूलो प्रभाव परेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन्।

यस्तै, ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ। ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा पुल बगेका छन्। त्यसैगरी ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

बाढीबाट करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० घरपरिवार तथा करिब ४० हजार जनसङ्ख्या प्रभावित भएको विवरणमा उल्लेख छ।

कृषि तथा व्यापार क्षेत्रमा पनि ठूलो प्रभाव

बाढीका कारण उत्पादन क्षेत्रसमेत प्रभावित भएको छ। करिब १ हजार ८०६ हेक्टर कृषि बालीमा क्षति पुगेको छ। यसका साथै पशुपालन, पन्छीपालन तथा माछापालन व्यवसायमा समेत असर परेको छ।

बाढीबाट १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। यसले स्थानीय अर्थतन्त्र तथा प्रभावित परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ।

यसबीच प्रभावितको खोज, उद्धार तथा राहत वितरणको काम जारी छ। क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण तथा सडक सञ्जालमार्फत प्रभावित क्षेत्रलाई पुनः पहुँचमा जोड्ने कामसमेत द्रुत रूपमा अघि बढाइएको छ।

संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

बिनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले तत्काल मानवीय सहायता परिचालन गरेको जनाएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय तथा पहल गरी आपत्कालीन सहयोग कोष (डीआरएफ)मार्फत १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गरेका थिए।

त्यसपछि बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतका लागि नेपाल रेडक्रसका स्वयंसेवक तथा आइएफआरसीका टोली परिचालन गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको थियो। सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा टोलीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्यलाई अघि बढाएको थियो।

रेडक्रसका स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा समेत सहयोग गरिरहेका छन्।

डीआरएफमार्फत खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, म्याट, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका लागि डेथ बडी ब्याग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किटलगायत सामग्री तथा सेवा प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सम्भव भएको रेडक्रसले जनाएको छ।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईंले आपत्कालीन कोष समयमै निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पुगेको बताएका छन्।

उनका अनुसार स्वयंसेवकसहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भएको र प्रभावितले समयमै राहत सामग्री प्राप्त गर्न सकेका थिए। यसले अकाल मृत्यु, रोग तथा थप मानवीय पीडाको जोखिम घटाउन सहयोग पुगेको उनको भनाइ छ।

उनले संकटका बेला राज्य र रेडक्रस दुवै उपस्थित रहेको अनुभूति प्रभावित समुदायमा गराउन सहयोग पुगेको र यसले सामाजिक तनाव तथा अविश्वास घटाउनसमेत भूमिका खेलेको बताएका छन्।

चापागाईंले भोटेकोशी बाढी ‘फ्ल्यास फ्लड’को प्रकृतिको भएकाले स्रोत परिचालनको गति पनि अत्यन्त तीव्र रहेको बताए। डीआरएफ तथा आपत्कालीन अपिल छिटो सक्रिय भएको उल्लेख गर्दै उनले भोटेकोशी बाढी प्रतिकार्यलाई जलवायु संवेदनशील मानवीय प्रतिकार्यको महत्वपूर्ण नमुनाका रूपमा विकास गर्न सकिने धारणा राखेका छन्।

मानवीय सहायता निरन्तर

नेपाल रेडक्रसले बाढी प्रतिकार्यअन्तर्गत विभिन्न मानवीय सहायता निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी गएको सुरुआती दिनदेखि नै प्रतिकार्य जारी छ। प्रारम्भिक चरणमा खोज तथा उद्धारमा सहयोग गरेको रेडक्रसले अहिले आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र बहुउद्देश्यीय नगद सहायता लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।

रेडक्रसका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीअन्तर्गत १ हजार २१८ सेट, ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ।

एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। आवश्यक स्थानमा १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको तथा ट्याङ्करमार्फत पानी वितरण गरिएको रेडक्रसले जनाएको छ।

स्वास्थ्य तथा मनोसामाजिक सहयोग

बाढीबाट प्रभावित १ हजार ७१० जनाले मानसिक स्वास्थ्य, मनोसामाजिक तथा प्राथमिक मनोसामाजिक सहयोग प्राप्त गरेका छन्।

रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

त्यस्तै, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनासम्बन्धी सेवाअन्तर्गत २ हजार २९१ खोजतलासका केसमा सेवा तथा सहजीकरण गरिएको छ।

नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि २ हजार डेथ बडी ब्याग उपलब्ध गराइएको पनि रेडक्रसले जनाएको छ।

नगद सहायता र बालबालिकाका लागि सेवा

बहुउद्देश्यीय नगद सहायता तथा नगद/भौचर सहायता कार्यक्रमअन्तर्गत तत्काल आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको छ।

समुदायबाट प्राप्त गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव सङ्कलनका लागि विभिन्न माध्यम प्रयोग गरिएको छ। यस क्रममा करिब ३५० गुनासा तथा सुझाव सङ्कलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरणअन्तर्गत ५८७ वटा मर्यादा किट र १ हजार ८७ वटा स्वच्छता किट वितरण गरिएको छ।

बालबालिकालाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।

१७ स्थानमा सहायता तथा सूचना कक्ष

प्रभावित समुदायलाई आवश्यक सूचना, सहायता तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ।

यस्ता कक्षमार्फत बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायका गुनासा र सुझाव दर्ता गर्ने प्रक्रियाबारे जानकारी उपलब्ध गराइएको छ।

रेडक्रसले सामाजिक सञ्जाल तथा रेडियोमार्फत समेत बाढी प्रभावित समुदायलाई आवश्यक सूचना तथा सुरक्षा सन्देश प्रवाह गरिरहेको जनाएको छ।

पुनःस्थापना र पुनर्लाभमा जोड

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ।

आवश्यक सामग्री समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ।

भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको एक महिना पुग्दा पनि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणको काम चुनौतीपूर्ण रहेको छ। तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, विस्थापित परिवारको पुनःस्थापना, जीविकोपार्जनको पुनःस्थापना तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने अवस्था देखिएको छ।

नेपाल रेडक्रसले विपद्को समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत, मानवीय सहायता तथा आवश्यक सेवा निरन्तर सञ्चालन गर्न सहयोग गर्ने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक, सहयोगी व्यक्ति तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४