काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा नेपाल प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक कल्याणमा केन्द्रित ‘कल्याण तथा ध्यान सत्र’ कार्यक्रम सञ्चालन गरिएको छ।
२०८३ साल असोज ७ गते ईशा नेपालले आयोजना गरेको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, ईशा नेपालका पदाधिकारीहरू, अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा प्रशिक्षार्थी प्रहरी अधिकृतहरू एवम् अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी कर्मचारीको मानसिक शान्ति, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा समग्र कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले ध्यान तथा विभिन्न कल्याणसम्बन्धी अभ्यासहरू सञ्चालन गरिएको थियो।
प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा विभिन्न चुनौतीपूर्ण तथा तनावपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यसँगै समग्र कल्याणलाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रमले जोड दिएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीदेखि प्रशिक्षार्थी प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीसम्मको सहभागिता रहेको थियो। कार्यक्रमले प्रहरी जनशक्तिमा सकारात्मक सोच, मानसिक सन्तुलन तथा कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
