काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२, सिमरामा शनिबार साँझ दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय होटलमा दुई पक्षबीच विवाद भएको थियो। विवादका क्रममा चक्कु प्रहार हुँदा जीतपुर सिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्का गम्भीर घाइते भएका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
घटनापछि सिमरा क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले तत्काल घटनास्थलको अवस्था नियन्त्रणमा लिँदै घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपित जीतपुर सिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। विवादको वास्तविक कारण तथा घटनाको विस्तृत पृष्ठभूमिबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
मृतक खड्काको शव हाल अस्पतालमै रहेको बताइएको छ। प्रहरीले घटनास्थल तथा सम्बन्धित व्यक्तिहरूसँग आवश्यक सोधपुछ र प्रमाण संकलनको काम अघि बढाएको छ।