Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कागे अष्टमी आज : कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोषबाट मुक्त हुने धार्मिक विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ३ २०८३
  • 760
    SHARES

२२७ किलोको अष्टधातुको कागको मूर्ति मुख्य आकर्षण, लोकतान्त्रिक शहीद उद्यानमा विश्वकै ठूलो कागको मूर्ति निर्माण

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा–आराधना तथा दर्शन गरी मनाइँदैछ। विशेषगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको कागेश्वरी महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

कागेश्वरी महादेव मन्दिरमा गई पूजा–आराधना तथा दर्शन गरेमा कागको स्पर्शलगायत काग दोषबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ। वर्षभरि कागले स्पर्श गरेका वा कागसँग सम्बन्धित दोष लागेको विश्वास गर्ने मानिसले कागे अष्टमीका दिन कागेश्वरी महादेवको दर्शन गर्नुपर्ने जनविश्वास छ।

यस अवसरमा कागेश्वरी महादेवलाई हरियो मकै चढाउने परम्परा समेत रहेको छ। कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वासका कारण किसान तथा भक्तजनले विशेष रूपमा मकै चढाउने गरेका छन्।

गोसाइँकुण्डबाट ल्याएको जल चढाउने परम्परा

कागे अष्टमीसँग गोसाइँकुण्डको धार्मिक यात्राको समेत विशेष सम्बन्ध रहेको छ। श्रावण शुक्ल पूर्णिमा तथा गङ्गा दशहरा पर्वका अवसरमा रसुवास्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल कागे अष्टमीका दिन कागेश्वरी महादेव मन्दिरमा चढाउने धार्मिक विधि रहेको छ।

धार्मिक जनविश्वासअनुसार गोसाइँकुण्ड यात्रा पूरा गरेका भक्तजनले कागेश्वरीमा आई जल अर्पण नगरेसम्म धार्मिक यात्रा पूर्ण नहुने मान्यता छ। त्यसैले गोसाइँकुण्डबाट जल ल्याएका भक्तजन आज कागेश्वरी पुगेर भगवान् शिवलाई जल अर्पण गर्ने गर्छन्।

देशविदेशबाट भक्तजन आउने

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरी महादेव मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। कागे अष्टमीका अवसरमा यहाँ लाग्ने मेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको मन्दिर क्षेत्रमा आज आउने भक्तजनलाई सहज रूपमा पूजा तथा दर्शन गर्ने वातावरण बनाउन आवश्यक व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

मन्दिरसम्म पुग्ने यातायातलाई सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिएका छन्।

२२७ किलोको कागको मूर्ति मुख्य आकर्षण

कागेश्वरी महादेव मन्दिर परिसरमा रहेको २२७ किलोको अष्टधातुबाट निर्मित कागको मूर्ति भक्तजनका लागि विशेष आकर्षणको केन्द्र बनेको छ। उक्त मूर्ति नेपालकै ठूलो कागको मूर्ति रहेको बताइएको छ।

यसैगरी, मन्दिर नजिकै रहेको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको अष्टधातुबाट बनेको विश्वकै ठूलो कागको मूर्ति निर्माण गरिएको छ। उक्त विशाल मूर्ति निर्माणका लागि स्थानीयवासीले अष्टधातु तथा अन्य धातु दान गरेर सहयोग गरेका छन्।

कागेश्वरी महादेव मन्दिरको नामसँगै जोडेर स्थानीय तहको नामसमेत कागेश्वरी मनोहरा नगरपालिका राखिएको हो। नगरपालिकाले स्थापना भएदेखि नै कागे अष्टमीका अवसरमा विभिन्न कार्यक्रम तथा महोत्सव आयोजना गर्दै आएको छ।

कागे अष्टमीमा सार्वजनिक बिदा

कागेश्वरी मनोहरा नगरपालिकाले कागे अष्टमीका अवसरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ।

पर्वका अवसरमा आयोजना हुने महोत्सवमा स्थानीय संस्कृति, कला तथा परम्परालाई विशेष प्राथमिकता दिइन्छ। विशेषगरी तामाङ तथा नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शनी गर्ने गरिएको छ।

यसले धार्मिक पर्वसँगै स्थानीय संस्कृति, पर्यटन र उत्पादनको प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उपत्यकासहित विभिन्न जिल्लाबाट भक्तजन आउने

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै नजिकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाबाट समेत कागे अष्टमीका अवसरमा भक्तजन कागेश्वरी पुग्ने गरेका छन्।

त्यस्तै, देशका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसोबास गरिरहेका मानिस पनि कागको स्पर्शबाट मुक्त हुने धार्मिक विश्वासका साथ आजका दिन कागेश्वरी महादेव मन्दिरमा दर्शन गर्न जाने गर्छन्।

कागेश्वरी पुग्न नसक्नेले अन्य मन्दिरमा पूजा गर्ने

कागे अष्टमीका दिन कागेश्वरी महादेव मन्दिर पुग्न नसक्ने भक्तजनले काठमाडौंको हनुमानढोका तथा पशुपति क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्ने परम्परा पनि छ।

त्यस्तै, देशका विभिन्न स्थानमा रहेका कागेश्वर तथा कागेश्वरी मन्दिरमा समेत आज विशेष पूजा तथा आराधना हुने गर्दछ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कागे अष्टमीले कागेश्वरी क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४