Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका दुई महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं: शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 817
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गर्नुभएको छ ।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै कोइरालाले कांग्रेसको आन्तरिक विवाद र विभाजनले पार्टी संगठनमा मात्र नभई नेपालको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनमा समेत असर पर्न सक्ने धारणा राख्नुभएको हो । उहाँले कांग्रेसलाई एकताबद्ध बनाएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

कोइरालाले आफ्नो वक्तव्यमा भन्नुभएको छ, ‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ ।’

कांग्रेसभित्र पछिल्लो समय १५औँ महाधिवेशनलाई लिएर फरक–फरक धारणा र कार्यतालिका सार्वजनिक भएका छन् । संस्थापन पक्षले आफ्नो प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाइरहेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले समेत समानान्तर महाधिवेशनको तयारी अघि बढाएको समाचारहरू सार्वजनिक भएका छन् ।

यही परिस्थितिबीच कोइरालाले आफू कुनै एक पक्षको महाधिवेशनमा सहभागी हुनेभन्दा पार्टी एकताको वातावरण निर्माणमा केन्द्रित रहेको धारणा सार्वजनिक गर्नुभएको हो । केही दिनअघि पनि उहाँले पार्टी एकताको महाधिवेशन नहुने अवस्थामा कुनै पनि समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने बताउनुभएको थियो ।

‘कांग्रेस विभाजित र गन्तव्य हराएको माझीजस्तो भयो’

कांग्रेसभित्रको पछिल्लो अवस्थाप्रति आफू पीडित रहेको उल्लेख गर्दै कोइरालाले आफ्नो भावनासँग पार्टीका धेरै कार्यकर्ताको भावना जोडिएको दाबी गर्नुभएको छ ।

उहाँले कांग्रेस अहिले विभाजित, विघटनकारी र गन्तव्य हराएको माझीजस्तो अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हामी जो आफूलाई कांग्रेस भन्छौँ र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं । किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह हुनु नपर्ने हो, जति आज छौँ । हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो । दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ । हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ ।’

कोइरालाको पछिल्लो अभिव्यक्ति कांग्रेसभित्र एकताको प्रयास भइरहेका बेला आएको हो । पछिल्ला दिनमा सभापति गगन थापाले पनि विभिन्न नेताहरूसँग संवाद अघि बढाउँदै पार्टीभित्रको विवाद समाधान गरी एकताको महाधिवेशन गर्ने प्रयास गरिरहेको समाचारहरू सार्वजनिक भएका छन् ।

विपद्का बेला पार्टी विवादमा अल्झिन नहुने धारणा

कोइरालाले पार्टीभित्रको आन्तरिक विवादका कारण मुलुकका विभिन्न क्षेत्रमा भएका विपद्बाट प्रभावित नागरिकप्रति कांग्रेस पर्याप्त संवेदनशील हुन नसकेको बताउनुभएको छ ।

रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएका विपद्बाट प्रभावित नागरिकको अवस्थाप्रति पार्टी गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझ्नुपर्ने भन्दै उहाँले कांग्रेसको ध्यान तत्काल मानवीय संवेदनातर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले प्रश्न गर्नुभएको छ, ‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन् । उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ ? हामी के गर्दैछौँ ?’

कानुन र पार्टी विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनासँग खेलवाड गर्न नहुने कोइरालाको भनाइ छ । सहमति, सहकार्य र एकताका माध्यमबाट विपद्पीडित नागरिकको घाउमा मलम लगाउने दायित्व कांग्रेसको रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

‘को सही, को गलत भन्ने पक्षमा वकालत गर्दिनँ’

कोइरालाले पार्टीभित्र को सही र को गलत भन्ने पक्षमा आफूले वकालत गर्न नचाहेको स्पष्ट पार्नुभएको छ ।

पार्टीभित्रका साथीहरूबीच असुरक्षा, अपमान र घृणाको वातावरण सिर्जना गरेर निर्माण हुने कांग्रेस आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो ।’

यसअघि पनि कोइरालाले पार्टी एकता कायम नभएसम्म कुनै पनि समूहको महाधिवेशनमा सहभागी नहुने बताउनुभएको थियो । उहाँले पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने धारणा समेत सार्वजनिक गर्नुभएको थियो ।

मध्यमार्गलाई कांग्रेसको बाटोका रूपमा व्याख्या

कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्ग कठिन भए पनि त्यही बाटो सत्य र कांग्रेसको राजनीतिक संस्कारसँग जोडिएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’

पार्टीभित्र कसैप्रति आरोप–प्रत्यारोप गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै उहाँले सबैको एकताबद्ध प्रयासबाट मात्रै कांग्रेस सफल हुने बताउनुभएको छ ।

उहाँले पार्टी कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै भन्नुभएको छ, ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ । हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ ।’

एकताको अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता

कोइरालाले गाउँ, टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई समेत पार्टीलाई एकताबद्ध राख्ने अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।

पार्टी एकता र राष्ट्र निर्माणको अभियानलाई अलग रूपमा बुझ्न नसकिने बताउँदै उहाँले आफू कांग्रेस एकताको अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

‘म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहने छु,’ उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

यसैबीच कांग्रेसभित्रको विवाद समाधानका लागि विभिन्न तहमा संवाद र सहमतिको प्रयास जारी रहेको छ । पछिल्ला छलफलमा पार्टीभित्रका विभिन्न धारलाई समेटेर १५औँ महाधिवेशन अघि बढाउने विषयमा समेत कुराकानी भइरहेको समाचारहरू सार्वजनिक भएका छन् ।

कांग्रेसको आन्तरिक विवाद, दुईतर्फी महाधिवेशनको तयारी र एकताको प्रयासबीच डा. कोइरालाको पछिल्लो वक्तव्यले पार्टीभित्र सहमतिको खोजीलाई पुनः जोड दिएको छ । अब विभिन्न पक्षबीच हुने संवाद र त्यसबाट बन्ने सहमतिले कांग्रेसको आगामी महाधिवेशनको स्वरूप तथा पार्टीभित्रको राजनीतिक दिशालाई प्रभावित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४