एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी युद्ध अन्त्यको नजिक पुगेको दाबी गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पले बुधबार इरान सम्झौता गर्न निकै आतुर रहेको दाबी दोहोर्याउँदै आफूहरूबीच वार्ता अघि बढिरहेको बताउनुभएको हो।
सञ्चारकर्मीहरूले हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश प्राप्त भएको छ कि छैन भनेर प्रश्न गर्दा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्पका अनुसार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न इच्छा व्यक्त गरिरहेको छ। उहाँले इरानी पक्ष वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै युद्ध अन्त्य गर्ने दिशामा प्रगति भइरहेको संकेत गर्नुभएको छ।
युद्ध कुन चरणमा पुगेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले युद्ध अन्तिम चरणतिर पुगेको बताउनुभएको थियो। उहाँका अनुसार दुवै पक्षबीच सम्झौताको सम्भावनाबारे छलफल भइरहेको छ।
इरानबाट प्राप्त सन्देश प्रत्यक्ष रूपमा आएको हो वा कुनै मध्यस्थकर्तामार्फत भन्ने अर्को प्रश्नमा ट्रम्पले इरानी पक्षबाट सोझै जानकारी प्राप्त भएको जिकिर गर्नुभएको छ।
ट्रम्पको पछिल्लो भनाइले अमेरिका–इरान तनावका बीच सम्भावित वार्ताको विषयलाई पुनः चर्चामा ल्याएको छ। यद्यपि युद्ध अन्त्यका लागि कुनै औपचारिक सम्झौता भइसकेको पुष्टि भने भएको छैन।
अमेरिका र इरानबीचको तनाव लामो समयदेखि कायम रहँदै आएको छ। पछिल्लो द्वन्द्वका क्रममा दुवै पक्षबाट भएका सैन्य गतिविधिले क्षेत्रीय तनावसमेत बढाएको अवस्थामा युद्ध अन्त्यका लागि कूटनीतिक पहल र सम्भावित सम्झौताको विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।