Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालिगढहरूले विश्वकर्माको पूजा-आराधना गरी आज विश्वकर्मा पर्व मनाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 437
    SHARES

काठमाडौं । कालिगढ तथा श्रमिकहरूले बिहीबार विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा भगवान् विश्वकर्माको विधिपूर्वक पूजा–आराधना गरी विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व विशेषगरी औजार, मेसिन तथा निर्माणसँग सम्बन्धित काम गर्ने कालिगढ र श्रमिकका लागि महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

विश्वकर्मा पर्वका अवसरमा देशभरका विभिन्न कलकारखाना, वर्कसप, उद्योग तथा निर्माणसम्बन्धी कार्यस्थललाई विशेष रूपमा सजाउने गरिन्छ। श्रमिक तथा कालिगढहरूले बिहानैदेखि भगवान् विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा–आराधना गर्ने गर्छन्। कतिपय स्थानमा कार्यस्थलमा प्रयोग हुने मेसिन, औजार तथा उपकरणलाई समेत सफा गरी फूल, अक्षता, अबिरलगायत सामग्रीले पूजा गर्ने परम्परा छ।

विश्वकर्मा पूजाका दिन कालिगढहरूले दैनिक काममा प्रयोग गर्ने औजार तथा उपकरणको विशेष पूजा गर्छन्। धार्मिक विश्वासअनुसार यसरी औजारको पूजा गर्दा ती औजार लामो समयसम्म टिक्ने, कामका क्रममा बिग्रने सम्भावना कम हुने र काम राम्रोसँग सम्पन्न गर्न सकिने गुण प्राप्त हुन्छ।

पूजा सम्पन्न भएपछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको भगवान् विश्वकर्माको मूर्ति विभिन्न शुद्ध तथा पवित्र स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। काठमाडौं उपत्यकामा वाग्मतीको मुहानस्थल सुन्दरीजललगायतका स्थानमा मूर्ति लगेर विसर्जन गर्ने गरिन्छ। विभिन्न उद्योग तथा कलकारखानामा सामूहिक रूपमा पूजा आयोजना गरी श्रमिकहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने गरेका छन्।

विश्वकर्मालाई हिन्दू धार्मिक परम्परामा वास्तुकला, निर्माणकला तथा शिल्पकलाका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ। प्राचीन धार्मिक कथनअनुसार विश्वकर्माले विभिन्न देवस्थल, नगर तथा संरचनाको निर्माण गरेका थिए। त्यसैले निर्माण, वास्तुकला, शिल्प र प्रविधिसँग जोडिएका समुदायले विश्वकर्मालाई आफ्नो आराध्यदेवका रूपमा पूजा गर्ने परम्परा रहँदै आएको छ।

धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी भगवान् कृष्णलाई सुरक्षित राखेको विश्वास गरिन्छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक कथन रहेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्ने गरिएको प्रा. तोयराज नेपाल बताउनुहुन्छ।

प्राचीन भारतवर्षको धार्मिक परम्परामा द्वारकालाई चार दिशाका रक्षक देवतामध्ये पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिएको पाइन्छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। त्यसैले विश्वकर्मा पूजाले धार्मिक तथा सांस्कृतिक महत्वसँगै श्रम, सीप, प्रविधि, निर्माणकला र उत्पादनसँग जोडिएका पेशालाई सम्मान गर्ने पर्वका रूपमा पनि महत्व राख्दै आएको छ।

विशेषगरी मेकानिक, इन्जिनियरिङ, निर्माण, सुनचाँदीका काम गर्ने कालिगढ, लोहार, सिकर्मी, इलेक्ट्रिसियन, वेल्डर तथा विभिन्न उद्योगमा कार्यरत श्रमिकहरूले विश्वकर्मा पूजा विशेष उत्साहका साथ मनाउने गर्छन्। यस अवसरमा आफूले दैनिक प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गरी सुरक्षित, सहज र सफल कार्यका लागि प्रार्थना गर्ने परम्परा छ।

विश्वकर्मा पर्वले श्रम र सीपको सम्मान गर्दै काममा प्रयोग हुने औजार तथा प्रविधिप्रति कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक सन्देशसमेत दिने गरेको छ। आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि विभिन्न क्षेत्रमा कार्यरत कालिगढ तथा श्रमिकहरूले यस पर्वलाई आफ्नो पेशा र परम्परासँग जोडेर निरन्तर मनाउँदै आएका छन्।

यसरी प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा धार्मिक आस्थासँगै श्रमिक, कालिगढ, शिल्पी तथा प्राविधिक समुदायको पेशागत जीवनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४