Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घाचोकबाट मात्रै दैनिक ३ हजार लिटर दूध पोखरा भित्रिन्छ, अनुदानले बढायो व्यावसायिक पशुपालन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्रै दैनिक करिब ३ हजार लिटर दूध पोखरा बजारमा भित्रिने गरेको छ। पछिल्लो समय गाउँमा व्यावसायिक पशुपालन विस्तार भएसँगै दूध उत्पादन बढेको हो।

घाचोकमा पछिल्ला केही वर्षमा व्यावसायिक रूपमा गाई तथा अन्य दूधालु पशुपालन गर्ने किसानको संख्या बढ्दै गएको छ। हाल उक्त वडामा मात्रै तीन वटा दूध सङ्कलन केन्द्र (डेरी) सञ्चालनमा आएका छन्। प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसानको संख्या बढ्दै गएपछि गाउँबाट बजारमा जाने दूधको परिमाण पनि बढेको स्थानीय किसानहरू बताउँछन्।

सरकारले दूध उत्पादनमा किसानलाई उत्पादनका आधारमा प्रोत्साहन तथा अनुदान उपलब्ध गराउन थालेपछि व्यावसायिक दूध उत्पादनतर्फ किसानको आकर्षण बढेको हो। सरकारले किसानलाई दूध उत्पादन गरेबापत प्रतिलिटर रु. ५ का दरले अनुदान दिने गरेको छ।

स्थानीय किसान गोपाल पोखरेलका अनुसार दूध उत्पादनमा आधारित अनुदानले किसानलाई राहत पुगेको छ। उहाँका अनुसार गाउँमा पछिल्लो समय पशुपालन गर्नेको संख्या बढेको छ। तर, पशु आहाराको मूल्यमा भएको वृद्धिका कारण किसानले पाउने दूधको मूल्य अझै पर्याप्त नभएको उहाँको भनाइ छ।

“सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ। गाउँमा पशुपालनको लहर नै चलेको छ,” किसान पोखरेलले भन्नुभयो, “चोक्कर, पराललगायत पशु आहाराको मूल्य बढ्दा दूधको मूल्य भने खर्चअनुसार न्यून छ। समयअनुसार दूधको मूल्य पनि बढाउनु आवश्यक छ।”

कास्कीमा उत्पादनका आधारमा अनुदान

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत दूध उत्पादन गर्ने किसानलाई उत्पादनको परिमाणका आधारमा अनुदान उपलब्ध गराइन्छ।

कार्यालयका अनुसार अनुदान रकम किसानले सिधै नगद रूपमा प्राप्त गर्छन्। दूध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थामार्फत किसानलाई सरकारले उपलब्ध गराएको अनुदान वितरण हुँदै आएको छ।

कार्यालयका प्रमुख डा. गृष्म न्यौपानेका अनुसार गत आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत किसानलाई रु. २ करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको थियो। उक्त रकम ४४ लाख लिटर दूध उत्पादनका आधारमा प्रदान गरिएको हो।

डा. न्यौपानेले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमका कारण किसान दूध उत्पादनसँगै औपचारिक बजार प्रणालीमा जोडिनसमेत प्रोत्साहित भएका छन्।

२७ केन्द्रबाट ६९ लाख लिटरभन्दा बढी दूध सङ्कलन

कार्यालयको विवरणअनुसार गत वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत २७ वटा दूध सङ्कलन संस्था तथा केन्द्र मार्फत वार्षिक ६९ लाख २३ हजार ७ सय लिटर दूध सङ्कलन भएको थियो।

त्यस्तै, दूध सङ्कलन प्रणालीमा ८ हजार ५० जना किसान आबद्ध रहेको कार्यालयले जनाएको छ।

किसानले उत्पादन गरेको दूधलाई सङ्कलन केन्द्र तथा सहकारीमार्फत औपचारिक बजारमा पुर्‍याउने व्यवस्था हुँदा किसानलाई नियमित बजार उपलब्ध हुनुका साथै दूध उत्पादनको अभिलेख राख्नसमेत सहज भएको छ।

उत्पादनका आधारमा दिइने प्रोत्साहनले किसानलाई बढी दूध उत्पादन गर्न उत्प्रेरित गर्नुका साथै गाउँमा उत्पादित दूधलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउन सहयोग पुगेको कार्यालयको भनाइ छ।

बाछी र पाडी हुर्काउन पनि अनुदान

दूध उत्पादन बढाउने उद्देश्यले उत्पादनमा आधारित अनुदानसँगै कार्यालयले पाडी–बाछी हुर्काउने प्रोत्साहन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।

यस कार्यक्रमअन्तर्गत कोरली बाछी तथा कोरली पाडी हुर्काउन किसानलाई प्रति पशु रु. १० हजारका दरले अनुदान उपलब्ध गराइन्छ। भविष्यमा दूध उत्पादन गर्ने माउ पशुको संख्या बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यालयका अनुसार गत वर्ष यस कार्यक्रमबाट ९९ वटा कोरली पाडी र ३५५ वटा कोरली बाछी हुर्काएर माउ बन्न योग्य बनाइएको थियो। यसरी दूध उत्पादनका लागि योग्य हुने पशुको संख्या ४५४ ले वृद्धि भएको छ।

नयाँ दूधालु पशुको संख्या बढेसँगै चालु वर्षमा थप १२ लाख लिटर दूध उत्पादन हुने कार्यालयको अनुमान छ।

कास्कीमा आधाभन्दा बढी परिवार पशुपालनमा

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार कास्की जिल्लामा कुल १ लाख २० हजार ५७२ घरपरिवार रहेका छन्। तीमध्ये ५२ हजार ३२३ परिवार पशुपालनमा आबद्ध छन्।

पशुपालनमा आबद्ध परिवारको संख्या ठूलो रहेकाले दूध, मासु तथा अन्य पशुजन्य उत्पादनका क्षेत्रमा कास्कीको महत्वपूर्ण योगदान रहेको छ।

सरकार तथा स्थानीय तहबाट उत्पादनमा आधारित अनुदान, पशु स्वास्थ्य सेवा, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सुधार गर्न सके पशुपालनलाई अझ व्यवस्थित तथा व्यावसायिक बनाउन सकिने किसानहरूको अपेक्षा छ।

विशेषगरी दूध उत्पादनमा दिइने प्रतिलिटर अनुदानले किसानलाई उत्पादन बढाउन प्रोत्साहन गरे पनि पशु आहार, औषधि, श्रम तथा अन्य सञ्चालन खर्च बढिरहेका कारण दूधको मूल्य लागतअनुसार समायोजन हुनुपर्ने किसानहरूको माग छ।

घाचोकबाट मात्रै दैनिक हजारौँ लिटर दूध पोखरा बजार पुग्न थालेको अवस्थाले ग्रामीण क्षेत्रमा व्यावसायिक पशुपालन विस्तार हुँदै गएको देखाएको छ। उत्पादनमा आधारित प्रोत्साहन र बजारसँगको प्रत्यक्ष जोडले किसानलाई पशुपालनमा टिकाइराख्न तथा दूध उत्पादन बढाउन सहयोग पुग्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४