काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आगामी असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।
१५औं महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार अपिल जारी गर्दै थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई सफल बनाउन वडा तहदेखि केन्द्रसम्मको अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन् ।
थापाले पार्टीभित्र फरक मत, मतभेद र असमझदारी स्वाभाविक भए पनि संवाद, विधि र पद्धतिमार्फत समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरेका छन् । कांग्रेसले फरक मतलाई सम्मान गर्दै सहमति र सहभागिताका लागि निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ ।
उनले २०८२ पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णयअनुसार सदस्यता व्यवस्थापन समितिले नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका छन् । निर्वाचन अधिकृतहरू समेत जिल्लामा खटिइसकेको उनले उल्लेख गरेका छन् ।
भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने व्यवस्था गरिसकेको थापाले बताएका छन् । यससँगै तत्कालीन केन्द्रीय सदस्यहरू १५औं महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुने भएकाले कुनै भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।
थापाले महाधिवेशनमार्फत पार्टीलाई थप एकताबद्ध, गतिशील र राष्ट्रका चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्दै सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकलाई सौहार्दपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुने तय भएको छ ।