काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले अघि सारेको कार्यतालिकाअनुसार हुने महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिरहेका बेला देउवाले यस्तो अपिल गर्नुभएको हो। देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक जिम्मेवारी आफूलाई रहेको दाबी गर्नुभएको छ।
देउवाले आफ्नो अपिलमार्फत पार्टीभित्र देखिएको विवादलाई विधि र विधानअनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले हतारमा विशेष महाधिवेशन गर्ने प्रयासले पार्टीलाई थप कमजोर बनाउने तथा विभाजनतर्फ लैजान सक्ने आशंका व्यक्त गर्नुभएको छ।
उहाँले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको स्पष्ट पार्दै पार्टी र राज्यले आफ्नो अनुभव आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने बताउनुभएको छ।
देउवाका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो। त्यसैले पार्टीको नियमित महाधिवेशन निर्धारित प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ।
देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। उक्त कार्यतालिकाअनुसार मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी छ।
कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनको विषयलाई लिएर दुई धारबीच विवाद चर्किँदै आएको छ। एक पक्षले तत्काल विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ भने अर्को पक्षले नियमित प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आएको छ। यही विवादका बीच देउवाको पछिल्लो अपिल आएको हो।
देउवाले कांग्रेसको विधान तथा नेपालको संविधानअनुसार नियमित महाधिवेशन सम्पन्न गर्न पर्याप्त समय बाँकी रहेको दाबी गर्नुभएको छ। यस्तो अवस्थामा हतारमा विशेष महाधिवेशन आयोजना गर्नु उचित नहुने उहाँको तर्क छ।
उहाँले विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको विधान र संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै अधिवेशन अघि बढाएमा आफू मुकदर्शक भएर नबस्ने चेतावनीसमेत दिनुभएको छ। पार्टीलाई कमजोर बनाउने, विभाजन गर्ने वा अवैधानिक रूपमा महाधिवेशन गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने उहाँको भनाइ छ।
देउवाको अपिलसँगै कांग्रेसभित्रको महाधिवेशन विवाद थप पेचिलो बन्ने देखिएको छ। पार्टीको नेतृत्व, महाधिवेशनको मिति तथा संगठनात्मक संरचनालाई लिएर नेताहरूबीच देखिएको मतभेद समाधान गर्न अब शीर्ष नेतृत्वबीच थप छलफल आवश्यक देखिएको छ।
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा कांग्रेसभित्र दुई धार स्पष्ट देखिँदै गएको अवस्थामा देउवाले भने मंसिरमा निर्धारित नियमित महाधिवेशनलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले पार्टीको आन्तरिक लोकतन्त्र, वैधानिक प्रक्रिया र संगठनात्मक एकतालाई कायम राख्दै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
अब कांग्रेसको आगामी राजनीतिक गतिविधि विशेष महाधिवेशन पक्षधरले अघि सारेको कार्यक्रम र देउवा पक्षले समर्थन गरेको नियमित महाधिवेशन कार्यतालिकाबीच कसरी अघि बढ्छ भन्ने विषयमा केन्द्रित हुने देखिएको छ।