काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका तथा आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूमा उपचाररत बिरामीसँग गरिएको अन्तर्वार्ताको नैतिकता तथा स्वास्थ्य पत्रकारिताको सीमाबारे प्रश्न उठाएकी हुन्।
यसअघि एक युट्युब च्यानलमार्फत भोटेकोशी बाढीपछि सुरुङबाट उद्धार गरिएका र अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग गरिएको अन्तर्वार्ता सार्वजनिक भएको थियो। उक्त सामग्रीप्रति आपत्ति जनाउँदै सांसद बास्कोटाले गम्भीर स्वास्थ्य अवस्थामा रहेका बिरामीको संवेदनशीलता, गोपनीयता तथा स्वास्थ्य सुरक्षालाई बेवास्ता गरिएको हुन सक्ने बताइन्।
उनले आईसीयू अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने बताइन्।
परिवारका सदस्यलाई समेत निश्चित समय र निर्धारित प्रक्रियाअनुसार मात्र बिरामी भेट्न दिइने अवस्थामा सञ्चारमाध्यमबाट आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा त्यसका लागि अनुमति दिनु कति नैतिक अभ्यास हो भन्ने प्रश्न सांसद बास्कोटाले गरिन्।
उनले भनिन्, ‘अस्पतालको आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेको बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई समेत निश्चित समयका लागि मात्र भेटघाट गर्न दिइन्छ ।’
दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र विपद्का बेला सञ्चारमाध्यमले अपनाउनुपर्ने सीमाबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।
बास्कोटाले भनिन्, ‘तर दुई दिनअघि सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ । यसले केही प्रश्नसमेत खडा पारेको छ । अस्पतालमा उपचाररत बिरामी, अझ आईसीयूमै लिनु वा लिन स्वीकृति दिनु कति इथिकल अभ्यास हो ? विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’
विपद्मा पत्रकारिताको संवेदनशीलतामाथि बहस
सांसद बास्कोटाले विपद्को समयमा पीडित तथा घाइतेको अवस्था सार्वजनिक गर्नु आवश्यक भए पनि त्यस क्रममा बिरामीको स्वास्थ्य, गोपनीयता, सम्मान र मानसिक अवस्थालाई प्राथमिकता दिनुपर्ने बताइन्।
विशेषगरी गम्भीर अवस्थामा रहेका बिरामीलाई अन्तर्वार्ताका लागि दबाब नदिने, उपचारमा बाधा नपुर्याउने तथा स्वास्थ्य संस्थाले निर्धारण गरेका संक्रमण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने विषय उनले उठाएकी हुन्।
विपद्का घटनामा पीडितको वास्तविक अवस्था र घटनाको तथ्य सार्वजनिक गर्ने जिम्मेवारी सञ्चारमाध्यमको भए पनि बिरामीको व्यक्तिगत गोपनीयता तथा उपचारको अधिकारसँग त्यसको सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ।
भोटेकोशी बाढीपछि सुरुङबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भएको अन्तर्वार्ताले यही विषयलाई पुनः चर्चामा ल्याएको हो। आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिने वा सार्वजनिक गर्ने विषयमा सञ्चारमाध्यम, अस्पताल प्रशासन तथा सम्बन्धित व्यक्तिको सहमति र नैतिक मापदण्डबारे समेत प्रश्न उठेको छ।
प्रतिनिधिसभामा उठेको यो विषयले विपद्को रिपोर्टिङ गर्दा पत्रकारिता र मानवीय संवेदनशीलताबीचको सीमाबारे थप बहस आवश्यक रहेको देखाएको छ। विशेषगरी गम्भीर अवस्थामा रहेका बिरामीको उपचारलाई कुनै पनि प्रकारको मिडिया सामग्रीभन्दा माथि राख्नुपर्ने आवाज सांसद बास्कोटाले उठाएकी हुन्।