काठमाडौं । रसुवा बाढीमा परी घाइते भएका ८ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ। बाढीपछि घाइते अवस्थामा अस्पताल ल्याइएका बिरामीमध्ये हाल आठ जनाको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
त्रिभुवन शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा. गोपाल सेढाईँका अनुसार बाढीमा परी घाइते भएका ८३ जनालाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये उपचारपछि अधिकांश बिरामीलाई डिस्चार्ज गरिएको छ भने आठ जना अझै अस्पतालमै उपचाररत छन्।
हाल अस्पतालमा उपचाररत बिरामीहरूमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठ रहेका छन्।
डा. सेढाईँका अनुसार अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेमध्ये ६९ जना उपचारपछि घर फर्किसकेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।
यसैगरी, बाढीमा परी गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि घाइते तथा प्रभावितलाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो। उद्धार गरिएका घाइतेमध्ये त्रिभुवन शिक्षण अस्पतालमा उपचार आवश्यक पर्ने बिरामीलाई भर्ना गरी उपचार गरिएको हो।
अस्पतालमा उपचाररत आठ जनाको स्वास्थ्य अवस्थाबारे चिकित्सकको टोलीले नियमित निगरानी गरिरहेको छ। आवश्यकताअनुसार थप उपचार तथा स्वास्थ्य सेवासमेत उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहँदा घाइतेहरूको उपचारलाई समेत प्राथमिकतामा राखिएको छ। अस्पतालमा उपचारपछि घर फर्किएका घाइतेको अवस्थाबारे पनि आवश्यक स्वास्थ्य परामर्श दिइएको जनाइएको छ।