नेपालगञ्ज । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता बनाएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा तीजको रौनक हराएको छ। हरेक वर्ष तीजको आगमनसँगै गीत–सङ्गीत, मादलको ताल र रातो सारीको झिलीमिलीले गुञ्जायमान हुने गाउँ यसपटक भने शोक र पीडामा डुबेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी थपुवागाउँका पाँच जना बेपत्ता भएपछि गाउँका आँगन सुनसान बनेका छन्। चाडपर्वको उत्साहभन्दा बेपत्ता आफन्त सकुशल फर्किने आशा र प्रार्थनाले गाउँलेको मन भरिएको छ।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, उनकी ५६ वर्षीया श्रीमती विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शनका लागि पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीपछि बेपत्ता छन्।
बुढेसकालको सहारा मानिएका एक्ला छोरा दीपकसहित दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको परिवार गहिरो पीडामा छ। घरको ढोकामा आँखा ओछ्याएर आफन्त फर्किने प्रतीक्षा गरिरहेका परिवारका सदस्यमा अझै पनि उनीहरू सकुशल फर्किने झिनो आशा जीवितै छ।
उता रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा परी बेपत्ता भएका छन्। उनीहरू बेपत्ता भएपछि घरमा रहेका १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय अश्विन र ९ वर्षीया स्मारिका आमाबुबाको बाटो हेरेर बस्न बाध्य भएका छन्।
तीजको समयमा गाउँका अन्य घरमा चाडपर्वको तयारी भइरहँदा यी बालबालिकाको घरमा भने उत्सवको कुनै वातावरण छैन। आमाबुबाको खोजीमा रहेका बालबालिकाका लागि तीजको खुसीभन्दा पीडा र अनिश्चितता ठूलो बनेको छ।
स्थानीयवासी टेकराज जैसीका अनुसार गाउँका पाँच जना बेपत्ता भएपछि सिङ्गो समुदाय नै शोकमा डुबेको छ। उनका अनुसार यस्तो अवस्थामा चाडपर्व मनाउनेभन्दा पीडित परिवारको साथमा उभिनु नै गाउँलेको प्राथमिकता बनेको छ।
“गाउँका पाँच–पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु ?” जैसीले भने, “गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन्।”
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिन तथा पीडित परिवारलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। विशेषगरी आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने उनले बताएका छन्।
“यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,” वडाध्यक्ष बुढाले भने, “हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा रहेका छौँ।”
भोटेकोशी बाढीले थपुवागाउँमा मात्रै होइन, बाँकेका अन्य परिवारमा समेत गहिरो पीडा दिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवामा आएको भोटेकोशी बाढीपछि जिल्लाका २३ जना व्यक्ति अझै बेपत्ता छन्। त्यस्तै, तीन जनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
चाडपर्वको समयमा आफन्तको खोजीमा रहेका परिवारका लागि यो वर्षको तीज खुसीको अवसर बन्न सकेको छैन। थपुवागाउँका लागि यसपालिको तीज रातो सारी, मादल र गीतको पर्व नभई बेपत्ता आफन्त सकुशल फर्किने प्रतीक्षा, आँसु र प्रार्थनाको पर्व बनेको छ।
बेपत्ता भएका आफन्तको कुनै खबर आउने आशामा परिवारका सदस्यहरू दिनरात प्रतीक्षामा छन्। यही आशाले उनीहरूको पीडाबीच पनि एउटा प्रश्न जीवित राखेको छ—हराएका ती प्रियजनहरू कहिले घर फर्किएलान् ?