काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार आइतबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट गरी १ हजार ३८६ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना रहेका छन् ।
बाढीपछि विभिन्न स्थानमा फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ । पहिचानका क्रममा मृतक तथा उनीहरूका आफन्तबाट डीएनए नमुना सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।
हालसम्म मृतकका १ हजार २८६ जना र आफन्तका १ हजार ८४६ जना गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षण तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, अझै पहिचान हुन नसकेका १ हजार ३५४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ । आफन्त तथा परिवारजनलाई पहिचानमा सहयोग पु¥याउने उद्देश्यले शवसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणसँगै शव खोजी र व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी विभिन्न जिम्मेवारीमा परिचालन भएका छन् ।
बाढीका कारण अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन् । प्रहरीका अनुसार हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन् । उनीहरूको खोजीका लागि प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ ।
उद्धार गरिएका तथा विभिन्न कारणले तत्काल आफ्नो घर वा गन्तव्यमा फर्कन नसकेका व्यक्तिहरूलाई सुरक्षित राख्न विभिन्न जिल्लामा होल्डिङ सेन्टरको व्यवस्था गरिएको छ । हालसम्म विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ ।
विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित निकायले खोजी, उद्धार, राहत वितरण, शव पहिचान र व्यवस्थापनलगायतका कामलाई निरन्तरता दिइरहेका छन् । अझै हजारौँ व्यक्ति बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।