काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको अर्बन फ्ल्यास फ्लड अर्थात् सहरी आकस्मिक बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानीलाई संकलन गरी जमिनमा पुनर्भरण गर्ने तथा पानीको उचित व्यवस्थापन गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै डंगोलले काठमाडौंमा सामान्य वर्षा हुँदा पनि बाढी आउने अवस्था सिर्जना हुनु गम्भीर चुनौतीका रूपमा देखा परेको बताइन्। सहरी बाढीको समस्या तत्कालीन रूपमा मात्र नभई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले पछिल्लो समय काठमाडौंमा थोरै पानी पर्दासमेत सडक तथा बस्तीमा पानी जम्ने र बाढी आउने अवस्था देखिन थालेको उल्लेख गरिन्। जलवायु परिवर्तनसँगै सहरी संरचना, प्राकृतिक पानी निकास तथा जमिनको स्वरूपमा आएको परिवर्तनले पनि समस्या थप जटिल बनाएको उनको भनाइ छ।
डंगोलले भनिन्, ‘विशेषगरी अर्बन फ्ल्यास फ्लड अहिले ठूलो चुनौती बनेको छ । पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन।’
सहरी बाढीको दीर्घकालीन समाधान खोजिँदै
काठमाडौं महानगरपालिकाले सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत गरिरहेको डंगोलले जानकारी दिइन्। विगतमा सहरी क्षेत्रमा निर्माण भएका संरचना तथा विकासका कारण सिर्जित समस्यालाई पहिचान गरी क्रमशः सुधार गर्दै लैजानुपर्ने उनले बताइन्।
उनका अनुसार करिब तीन दशकअघि सुरु भएका कतिपय सहरी समस्या अहिले आएर **‘अर्बन फ्ल्यास फ्लड’**का रूपमा प्रत्यक्ष देखिन थालेका छन्। प्राकृतिक पानीको बहाव तथा जमिनमा पानी सोसिने प्रणाली कमजोर हुँदै जाँदा वर्षाको पानी तत्कालै सडक तथा खोलातर्फ बग्ने अवस्था बढेको उनले बताइन्।
त्यसैले पानीको निकासका लागि ठूला संरचना निर्माण गर्नुका साथै वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने प्रणाली विकास गर्नुपर्नेमा महानगरपालिकाले जोड दिएको छ।
वर्षाको पानी जमिनमै पुनर्भरण गरिने
महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियानमार्फत रेन वाटर हार्भेस्टिङ तथा पानी पुनर्भरणका कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
वर्षाको पानीलाई सिधै ढल तथा नदीमा पठाउनुको सट्टा संकलन गरी आवश्यक स्थानमा प्रयोग गर्ने तथा जमिनमा पुनर्भरण गर्ने प्रणाली विकास गरिने डंगोलले बताइन्।
उनले भनिन्, ‘यस समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । तर अहिले हामीले जेबाट काम सुरु गर्न सक्छौँ, त्यहीँबाट सुरु गरौँ भन्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउँदैछौँ।’
अभियानअन्तर्गत वर्षाको पानी संकलन, पानीलाई जमिनमा पुनर्भरण गर्ने संरचना निर्माण तथा पानीको उचित व्यवस्थापनका उपायलाई प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएको छ।
‘विगत ३० वर्षमा धेरै कुरा बिगारेका छौँ’
डंगोलले काठमाडौंमा विगतमा भएका विकास निर्माणका कारण उत्पन्न समस्या सुधार गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिइन्।
उनका अनुसार सहरी विकास आवश्यक भए पनि प्राकृतिक प्रणालीलाई बेवास्ता गरेर गरिएका संरचना निर्माणले अहिले विभिन्न समस्या निम्त्याइरहेको छ। त्यसैले विगतका कमजोरीबाट पाठ सिक्दै बिग्रिएका संरचना तथा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन्।
‘विगत ३० वर्षमा हामीले धेरै कुरा बिगारेका छौँ, अब बिग्रिएका कुरालाई सुधार्दै जानुपर्छ । आज हाम्रा कलाकार साथीहरूले पनि यही महत्वपूर्ण सन्देश दिनुभएको छ,’ उनले भनिन्।
वर्षा हुँदा महानगरको टोली ‘स्ट्यान्डबाइ’मा बस्नुपर्ने अवस्था
काठमाडौंमा वर्षा सुरु हुनासाथ नगर प्रहरी, विपद् व्यवस्थापन टोली तथा जनप्रतिनिधिसमेत सम्भावित विपद्का लागि तयारी अवस्थामा बस्नुपर्ने अवस्था आएको डंगोलले बताइन्।
उनका अनुसार वर्षाका कारण कतै डुबान, सडकमा पानी जम्ने, खोला तथा नदीको बहाव बढ्ने वा अन्य विपद् निम्तिन सक्ने भएकाले महानगरको विपद् व्यवस्थापन संयन्त्रलाई चौबिसै घण्टा सक्रिय अवस्थामा राख्नुपर्ने अवस्था छ।
‘मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू कुनै विपद् आइपरे फिल्डमा जानुपर्ने भन्दै स्ट्यान्डबाइमा बस्नुपर्छ,’ डंगोलले भनिन्।
अहिलेबाटै समाधानको सुरुवात गर्नुपर्नेमा जोड
महानगरपालिकाले काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित बनाउन दीर्घकालीन योजनासँगै तत्काल कार्यान्वयन गर्न सकिने कार्यक्रम अघि बढाउने जनाएको छ।
डंगोलले भविष्यमा ठूलो विपद् आएपछि मात्र समाधान खोज्नुभन्दा अहिलेबाटै जोखिम न्यूनीकरणका काम सुरु गर्नुपर्ने बताइन्। पानीको प्राकृतिक चक्रलाई पुनःस्थापित गर्ने, वर्षाको पानी जमिनमा पुनर्भरण गर्ने तथा सहरी पूर्वाधारलाई वातावरणमैत्री बनाउँदै लैजानुपर्ने उनको भनाइ छ।
पछिल्लो समय सामान्य वर्षापछि समेत काठमाडौंका विभिन्न स्थानमा पानी जम्ने तथा आकस्मिक बाढीको जोखिम बढ्दै गएकाले विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै सहरी योजना र पानी व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।
‘रिचार्ज काठमाडौं’ अभियानमार्फत वर्षाको पानीको व्यवस्थापन र भूमिगत जल पुनर्भरणलाई प्राथमिकता दिँदै काठमाडौंलाई भविष्यमा हुने सहरी बाढीको जोखिमबाट सुरक्षित बनाउने महानगरपालिकाको लक्ष्य रहेको डंगोलले बताएकी छन्।