काठमाडौँ । काभ्रेपलाञ्चोकले विपद् आएपछि उद्धार, राहत र पुनःस्थापनामा मात्रै केन्द्रित हुने परम्परागत शैलीमा परिवर्तन गर्दै विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वसूचना र पूर्वतयारीलाई प्राथमिकतामा राख्न थालेको छ। पछिल्ला वर्षमा बाढी, पहिरो, आगलागीलगायतका विपद्का घटनाबाट ठूलो जनधनको क्षति व्यहोरेपछि जिल्लाले विपद् व्यवस्थापनको रणनीतिलाई नै पुनःव्यवस्थित गर्न थालेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म काभ्रेपलाञ्चोकमा कुल १४ हजार ३०४ वटा विपद्का घटना दर्ता भएका छन्। तीमध्ये आर्थिक वर्ष २०८१/८२ मा मात्रै १३ हजार ८७३ भन्दा बढी विपद्का घटना भएका थिए। बाढी, पहिरो र आगलागीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले आगामी दिनमा क्षति न्यूनीकरणलाई प्राथमिकतामा राखेर पूर्वतयारीका कामलाई तीव्रता दिएको हो।
विपद्को जोखिम सबै क्षेत्रमा समान नरहेकाले जिल्लाका १३ वटै स्थानीय तहलाई जोखिमको प्रकृति र सम्भावित प्रभावका आधारमा वर्गीकरण गरिएको छ। उपलब्ध तथ्याङ्कअनुसार पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती, महाभारत र खानीखोला गरी सातवटा स्थानीय तह बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्। ती क्षेत्रमा वर्षायाममा विशेष निगरानी, पूर्वसूचना र उद्धार तथा राहतसम्बन्धी तयारीलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।
जोखिमयुक्त क्षेत्र तथा प्रभावित परिवारको विवरणलाई व्यवस्थित बनाउन डिजिटल ‘विपद् पोर्टल’ प्रयोगमा ल्याइएको छ। यसमार्फत जोखिम तथा क्षतिको विवरण संकलन, लाभग्राही पहिचान र राहत तथा अनुदान वितरणलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सरकारले उपलब्ध गराएको अनुदान वितरणको काम पनि अघि बढिरहेको छ। उनका अनुसार हालसम्म प्रभावित परिवारलाई आवास निर्माणका लागि १२ करोड ६ लाख २५ हजार रुपैयाँभन्दा बढी अनुदान हस्तान्तरण भइसकेको छ।
प्रशासनले विपद्को समयमा तत्काल उद्धार तथा प्रतिकार्य गर्न सुरक्षा निकायलाई समेत तयारी अवस्थामा राखेको जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तालिमप्राप्त जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। सम्भावित बाढी, पहिरो तथा अन्य विपद्का घटनामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवाला निकायबीच समन्वय बढाइएको प्रशासनको भनाइ छ।
विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने कामलाई पनि जिल्लाले विशेष प्राथमिकता दिएको छ। जोखिमयुक्त क्षेत्रमा समयमै सूचना पुर्याउने, स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।
जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमका अनुसार विपद्को जोखिम भएका क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार रोक्नु आवश्यक रहेको भन्दै त्यसतर्फ पनि योजना अघि बढाइएको छ। जोखिम पहिचान नगरी बस्ती विस्तार हुँदा भविष्यमा विपद्का बेला क्षति अझ बढ्न सक्ने भएकाले स्थानीय तहहरूले विकास निर्माण र बस्ती विस्तारका क्रममा जोखिमलाई समेत ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
विशेषगरी वर्षायाममा काभ्रेको प्रमुख सडकमार्ग बीपी राजमार्गमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउने गरिएको छ। जोखिम बढेका बेला रात्रिकालीन आवागमन रोक्ने तथा सम्भावित जोखिमबारे यात्रु र स्थानीय बासिन्दालाई सूचना प्रवाह गर्ने कामलाई पनि निरन्तरता दिइएको छ।
त्यसैगरी नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढीको जोखिमबारे समयमै जानकारी गराउने, जलसतह बढेको अवस्थामा सतर्क गराउने तथा सुरक्षित स्थानतर्फ जान आवश्यक सूचना दिने व्यवस्था मिलाउने प्रयास भइरहेको छ।
काभ्रेपलाञ्चोक भौगोलिक रूपमा विविधतायुक्त जिल्ला भएकाले विपद् व्यवस्थापनमा चुनौती पनि उत्तिकै रहेको अधिकारीहरू बताउँछन्। पहाडी तथा विकट भूगोल, कमजोर सडक पहुँच र कतिपय स्थानमा सीमित स्रोतसाधनका कारण विपद् भएपछि तत्काल उद्धार तथा राहत पुर्याउन कठिनाइ हुने गरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै अब विपद् आएपछि मात्रै सक्रिय हुनेभन्दा विपद् आउनुअघि नै जोखिम घटाउने र क्षति न्यूनीकरण गर्ने रणनीति अपनाउन थालिएको हो।
यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ। स्थानीय तहलाई आफ्नो क्षेत्रको जोखिम पहिचान गरी आवश्यक पूर्वतयारी गर्न, उद्धार सामग्री व्यवस्थापन गर्न तथा स्थानीय स्वयंसेवक र समुदायलाई विपद् प्रतिकार्यसम्बन्धी तालिम दिन प्रोत्साहित गरिएको छ।
अधिकारीहरूका अनुसार विपद् व्यवस्थापनलाई केवल राहत वितरण र उद्धारमा सीमित राख्दा दीर्घकालीन रूपमा जोखिम घटाउन सकिँदैन। त्यसैले जोखिमको नक्साङ्कन, पूर्वसूचना, सुरक्षित बस्ती विकास, पूर्वतयारी, समुदायको सहभागिता र प्रभावकारी समन्वयलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।
पछिल्ला तीन आर्थिक वर्षमा हजारौँ विपद्का घटना व्यहोरेको काभ्रेका लागि आगामी दिनमा विपद्को संख्या घटाउनुका साथै विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नु प्रमुख चुनौती बनेको छ। यसका लागि पूर्वतयारीलाई निरन्तरता दिँदै जोखिमयुक्त क्षेत्रको पहिचान र व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउनुपर्ने देखिन्छ।
सीमित स्रोतसाधन र भौगोलिक कठिनाइका बाबजुद सबै निकायबीच सहकार्य र समन्वय बढाएर विपद् आउनुअघि नै सम्भावित जोखिम पहिचान गर्ने र क्षति कम गर्ने दिशामा काभ्रेले अघि बढाएको नयाँ रणनीतिले विपद् व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।