काठमाडौँ । बागलुङमा प्रहरीले तीन थान भरुवा बन्दुक फेला पारेको छ भने ठूलो परिमाणमा लागुऔषधसहित एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनबाट तीन थान एकनाले भरुवा बन्दुक फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार शुक्रबार अपराह्न नियमित गस्तीमा खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका तीन थान भरुवा बन्दुक फेला पारेको थियो ।
प्रहरीले फेला परेका बन्दुक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच, बागलुङकै बुर्तिबाङ क्षेत्रमा प्रहरीले लागुऔषध बिक्री भइरहेको गोप्य सूचना पाएपछि होटलमा छापा मारेको छ । प्रहरीले ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर लागुऔषधसहित होटल सञ्चालकलाई पक्राउ गरेको हो ।
सूचनाका आधारमा प्रहरीले होटलमा छापा मार्दा एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी त्वातीले जानकारी दिनुभयो ।
लागुऔषधसहित पक्राउ पर्नेमा म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापा रहेकी छन् । उनी मीना होटल एण्ड रेष्टुरेन्टकी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको लागुऔषध र पक्राउ परेकी थापामाथि थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले होटलबाट लागुऔषध बिक्री तथा वितरण भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरेको जनाएको छ ।
पक्राउ परेकी थापालाई जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले लागुऔषध कहाँबाट ल्याइएको थियो, बिक्रीमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन तथा कारोबारको सञ्जालबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
एकै क्रममा बडिगाडको जंगलबाट अवैध भरुवा बन्दुक फेला पर्नु र बुर्तिबाङमा ठूलो परिमाणमा गाँजा तथा चरेस बरामद हुनुका कारण प्रहरीले दुवै घटनालाई गम्भीररूपमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले अवैध हातहतियार तथा लागुऔषधको कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र गस्ती बढाएको जनाएको छ ।