काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजलाई व्यवस्थित र सुरक्षित बनाउन तयारी थालेको छ।
तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा देशभरबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले कोषले सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइलगायतका विषयलाई प्राथमिकतामा राखेर तयारी अघि बढाएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा शुक्रबार कोष, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागितामा तीज पर्व २०८३ का लागि समन्वय बैठक बसेको थियो।
बैठकमा पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा–आराधना गर्ने वातावरण मिलाउने विषयमा छलफल भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो।
कोषले यस वर्षको तीज पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सात वटा उपसमिति गठन गरेर तयारी अघि बढाएको छ। उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार आवश्यक व्यवस्थापनको काम गर्नेछन्।
कोषका अनुसार अनुगमन उपसमितिको संयोजकमा सदस्य सचिव तीर्थ श्रेष्ठ रहनुभएको छ। त्यस्तै, सुरक्षा उपसमितिको संयोजकमा परिषद् सदस्य रामशोभित नायक, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा परिषद् सदस्य केदारमान भण्डारी रहनुभएको छ।
यसैगरी दर्शन व्यवस्थापन तथा चन्दन वितरण उपसमितिको संयोजकमा परिषद् सदस्य गंगासागर बानियाँ, सरसफाइ व्यवस्थापन तथा स्थान व्यवस्थापन उपसमितिको संयोजकमा परिषद् सदस्य रुपा शाही बास्तोला र तीज व्यवस्थापन उपसमितिको संयोजकमा परिषद् सदस्य संगीता कुमारी राम रहनुभएको कोषले जनाएको छ।
तीज पर्वका क्रममा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले मन्दिर परिसरमा भीड नियन्त्रण, स्वयंसेवक परिचालन, दर्शनको व्यवस्थापन, सरसफाइ तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तयारी भइरहेको छ।
सम्बन्धित सबै निकायको सहकार्यमा तीज पर्वलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाउने विषयमा विभिन्न उपसमितिका बैठकमा समेत छलफल भइरहेको सदस्य सचिव श्रेष्ठले बताउनुभयो।
यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको छ। तीजको व्रतका दिन पशुपतिनाथसहित देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
तीजका अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनको सहजताका लागि कोषले आवश्यक व्यवस्थापनलाई समयमै प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ।