Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीको १७औँ दिनसम्म १ हजार ३८५ शव फेला, ५ हजार १३० अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 741
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत अगस्ट २६ (भदौ १०) मा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म १ हजार ३ सय ८५ जनाको शव फेला परेको सरकारले जनाएको छ। बाढीमा अझै ५ हजार १ सय ३० जना बेपत्ता रहेको जानकारी दिइएको छ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी नदीका तटीय क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताउनुभयो।

बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिक समेत रहेको उहाँले जानकारी दिनुभयो। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३२० भन्दा बढी विदेशी नागरिकसहित कुल १३ हजार ६ सय ७६ जनाको जीवित उद्धार गरिएको छ।

खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप अद्यावधिक हुन सक्ने सरकारले जनाएको छ।

विदेशी विज्ञबाट डीएनए परीक्षण

शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग सहकार्य गरी डीएनए संकलन तथा विश्लेषणमा जुटिरहेका छन्।

भविष्यमा डीएनए परीक्षणका आधारमा शव आफन्तलाई पहिचान गरी बुझाउन सहज हुने गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई अस्थायी रूपमा समाधिस्थ गर्ने काम भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो।

२ खर्ब ४१ अर्बको पूर्वाधार क्षति

सरकारले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट करिब १ अर्ब ८० करोड अमेरिकी डलर अर्थात् २ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

त्यस्तै, करिब ८८ करोड ३० लाख अमेरिकी डलर अर्थात् १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान छ।

समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि ४ अर्ब ७८ करोड अमेरिकी डलर अर्थात् झण्डै ६ खर्ब ४० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।

आगामी ६ महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै ५ करोड ७६ लाख अमेरिकी डलरभन्दा बढी बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

सरकारले क्षतिको अन्तिम तथा विस्तृत विवरण तयार गर्न विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ।

सुरुङ उद्धारमा विदेशी टोली परिचालन

बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषभित्र खोजी तथा उद्धारका लागि विदेशी प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोली जटिल क्षेत्रमा खोजी तथा उद्धारमा खटिएका छन्। त्यस्तै, संयुक्त अरब इमिरेट्स, मलेसियाको ‘स्मार्ट’ तथा अस्ट्रेलियाको ‘डार्ट’ टोलीले पनि स्थलगत खोजीमा सहयोग गरिरहेका छन्।

बाढी प्रभावित सीमावर्ती क्षेत्रबाट चिनियाँ अधिकारीहरूको सहजीकरणमा तातोपानी नाका हुँदै हालसम्म ७६८ जना नेपाली नागरिकलाई सकुशल स्वदेश फर्काइएको सरकारले जनाएको छ।

अन्तर्राष्ट्रिय सहयोगका लागि कूटनीतिक पहल

विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा प्राविधिक सहायता जुटाउन उच्च तहबाट कूटनीतिक संवाद भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो।

प्रधानमन्त्री बालेन्द्र शाहले न्यूजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी सहयोग तथा सहकार्यका विषयमा छलफल गर्नुभएको जानकारी दिँदै उहाँले प्रधानमन्त्री र परराष्ट्रमन्त्री मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर संवादमा रहेको बताउनुभयो।

नेपाल सरकारले घटनास्थलको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै उच्च क्षमताका ड्रोन, जमिनमुनि हेर्न सकिने लिडार प्रणाली, पानीमुनि खोजी गर्ने अन्डरवाटर ड्रोन, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट तथा उच्च क्षमताका पम्प उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग औपचारिक आग्रह गरेको छ।

सडक तथा सञ्चार संरचना पुनः सञ्चालनको प्रयास

भौतिक पूर्वाधार पुनर्बहालीअन्तर्गत गल्छी–त्रिशूली सडकखण्डको देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडान गरी यातायात सञ्चालनमा ल्याइएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।

बाढी प्रभावित क्षेत्रमा सञ्चार, विद्युत् तथा सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारले युद्धस्तरमा काम गरिरहेको जनाएको छ। साथै, परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्ष (ईसीआर) २४सै घण्टा सक्रिय रहेको जानकारी दिइएको छ।

भोटेकोशी बाढीपछि जारी खोजी तथा उद्धार अभियानसँगै सरकारले राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट आवश्यक सहयोग जुटाउने कामलाई समेत तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४