काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि विशेष टोली परिचालन गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको सम्पर्क विशेष संगठन कमिटीका तर्फबाट परिचालन हुन लागेको टोलीलाई आवश्यक निर्देशन दिँदै बिदाइ गर्नुभएको हो।
गत भदौ १० गते आएको बाढीका कारण नुवाकोट र रसुवामा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन एमालेले विशेष टोली परिचालन गरेको जनाएको छ।
टोलीले प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, त्रिपाल, औषधिलगायत अत्यावश्यक सामग्री वितरण गर्नेछ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा स्थानीय प्रशासनलाई आवश्यक सहयोग पुर्याउने एमालेले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत र सहयोग आवश्यक पर्ने भएकाले पार्टीको तर्फबाट टोली परिचालन गरिएको हो। प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकता बुझ्ने र सोहीअनुसार राहत तथा उद्धार कार्यमा सहयोग गर्ने टोलीको उद्देश्य रहेको बताइएको छ।
एमालेले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा उद्धार कार्यमा राज्यका निकायसँग समन्वय गरेर सहयोग गर्ने जनाएको छ।