काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि उहाँ मन्त्रालय पुग्नुभएको हो।
मन्त्री साहलाई मन्त्रालयमा सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित उच्च अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहणका क्रममा मन्त्रालयका कर्मचारीहरूले नवनियुक्त मन्त्री साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयको कामलाई प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो। उहाँले आफूले जिम्मेवारी सम्हालेलगत्तै विगतमा मन्त्रालयबाट भएका काम, उपलब्धि तथा बाँकी रहेका विषयबारे जानकारी लिएर आगामी कार्ययोजना बनाउने बताउनुभयो।
मन्त्री साहका अनुसार आफ्नो पहिलो प्राथमिकता निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग आवश्यक परामर्श गर्नु हुनेछ। उहाँले यादवको कार्यकालमा भएका काम तथा प्रगतिको अवस्थाबारे जानकारी लिएर त्यसलाई निरन्तरता दिनुपर्ने विषयमा अध्ययन गर्ने बताउनुभयो।
विगतका कामलाई बुझेर आवश्यक सुधारसहित अगाडि बढ्ने आफ्नो योजना रहेको मन्त्री साहले बताउनुभयो। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ।
यसैबीच, सञ्चारकर्मीहरूले आम नागरिकलाई आवश्यक पर्ने खाना पकाउने ग्यासको आपूर्तिका विषयमा मन्त्री साहसँग प्रश्न गरेका थिए। जवाफमा उहाँले ग्यास आपूर्तिको विषयमा मन्त्रालयभित्र आवश्यक छलफल गरेर ठोस निर्णय लिइने बताउनुभयो।
मन्त्री साहले आम नागरिकको आवश्यकता पूरा गर्न सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै “जनताको आवश्यकता जति ग्यास दिनैपर्छ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ग्यासको आपूर्ति, बजार व्यवस्थापन तथा उपभोक्ताले भोगिरहेका समस्याका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरी समाधानतर्फ अघि बढ्ने संकेतसमेत उहाँले गर्नुभएको छ। नागरिकलाई सहज रूपमा आवश्यक वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने विषय आफ्नो कार्यकालको महत्वपूर्ण जिम्मेवारी रहेको मन्त्री साहको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग क्षेत्रको विकास, व्यापार व्यवस्थापन, बजार अनुगमन तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलगायत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ। नयाँ मन्त्रीको आगमनसँगै यी क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।
मन्त्री साहले मन्त्रालयका कर्मचारी तथा सम्बन्धित निकायसँग समन्वय गर्दै प्राथमिकताका विषय पहिचान गरेर अघि बढ्ने बताउनुभएको छ। उहाँको कार्यकालमा उद्योग तथा व्यापार क्षेत्रसँगै आम उपभोक्तासँग प्रत्यक्ष जोडिएका आपूर्ति व्यवस्थापनका विषयमा समेत प्रभावकारी निर्णय हुने अपेक्षा गरिएको छ।