गोरखा । बाँदरको आतंकका कारण वर्षौंदेखि बाँझै छाडिएका पाखा–पखेरामा गोरखाका स्थानीयले व्यावसायिक रूपमा मार्सी धानको खेती सुरु गरेका छन्। गोरखाको उच्च पहाडी क्षेत्र धार्चे गाउँपालिका–३ उहियामा स्थानीय महिलाहरूको सक्रियतामा लोकप्रिय तथा स्वादिलो मानिने मार्सी धानको सामूहिक खेती सुरु गरिएको हो।
बाँदरले परम्परागत बाली नष्ट गर्न थालेपछि खेतीपातीबाट विस्थापित हुँदै गएका स्थानीय महिलाले समूह गठन गरेर बाँझो जमिनको सदुपयोग गर्दै मार्सी धान उत्पादन गर्न थालेका हुन्। उहिया कृषक आमा समूहको नेतृत्वमा सुरु गरिएको यो खेती पछिल्ला वर्षमा क्रमशः विस्तार हुँदै गएको छ।
समूहकी संस्थापक प्रमिना घलेका अनुसार बाँदरका कारण खेती गर्न छाडिएका पाखा–पखेरामा सामूहिक रूपमा खेती गर्न थालेपछि बाँझो जमिनको सदुपयोग हुनुका साथै महिलाहरूको आम्दानीको स्रोतसमेत बनेको छ।
उहाँका अनुसार व्यक्तिगत रूपमा खेती गर्दा बाँदरबाट बाली जोगाउन निकै कठिन हुने गरेको थियो। तर समूह बनाएर सामूहिक रूपमा खेती गर्न थालेपछि आलोपालो गरेर बाँदर कुर्ने र खेतबारीको काम गर्ने व्यवस्था मिलाइएको छ।
उहाँले भन्नुभयो, “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखेरोमा समूह गठन गरेर मार्सी धान लगाउन सुरु गर्यौं। सामूहिक रूपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो। बाँझो जमिनको पनि सदुपयोग भयो।”
उत्पादनमा निरन्तर वृद्धि
उहिया कृषक आमा समूहले विसं २०८१ सालदेखि व्यावसायिक रूपमा मार्सी धानखेती सुरु गरेको हो। पहिलो वर्ष समूहले करिब २० रोपनी क्षेत्रफलमा खेती गरेर २१ मुरी धान उत्पादन गरेको थियो।
त्यसपछि उत्पादनमा निरन्तर वृद्धि हुँदै गएको समूहले जनाएको छ। दोस्रो वर्ष करिब ३० मुरी मार्सी धान उत्पादन भएको थियो भने यस वर्ष उत्पादन बढेर करिब ५० मुरी पुगेको छ।
यस वर्ष खेती गर्ने क्षेत्रफलसमेत विस्तार गरिएको समूहकी संस्थापक घलेले बताउनुभयो। उहाँका अनुसार यस वर्ष करिब ४० रोपनी क्षेत्रफलमा मार्सी धानखेती गरिएको थियो र उत्पादन करिब ५० मुरी पुगेको हो।
मार्सी धान भित्र्याएपछि खाली रहने जमिनमा समूहले फापरखेतीसमेत गर्ने गरेको छ। यसबाट एउटै जमिनलाई वर्षमा विभिन्न समयमा उपयोग गर्न सकिने भएकाले स्थानीय महिलालाई थप आम्दानीको अवसर मिलेको छ।
घलेका अनुसार उहियामा उत्पादन हुने मार्सी धान र फापर दुवैको बजारमा माग राम्रो छ। स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन केही चुनौती रहे पनि यी बाली लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले बजार व्यवस्थापनमा केही सहजता हुने गरेको छ।
उहाँले भन्नुभयो, “बजारमा यसको माग पनि उच्च छ। यहाँको उत्पादन बजारसम्म पुर्याउन भने केही चुनौती छन्। मार्सी धान र फापर अन्य फलफूल, तरकारीजस्तो हत्तपत्त बिग्रँदैन। यसलाई यहीँ थन्क्याएर राख्न मिल्ने र पछि मागअनुसार पठाउन मिल्ने भएर पनि खेती गरेका हौं।”
पाथीको २२५ देखि ५०० रुपैयाँसम्म
उहिया कृषक आमा समूहले कुटानी नगरेको मार्सी धान र फापरसमेत बिक्री गर्दै आएको छ। समूहका अनुसार कुटानी नभएको मार्सी धान प्रति पाथी २२५ रुपैयाँ र फापर प्रति पाथी ५०० रुपैयाँमा बिक्रीवितरण हुँदै आएको छ।
समूहमा उहियाका २२ घरधुरी आबद्ध छन्। सामूहिक रूपमा खेती गर्दा श्रम व्यवस्थापनदेखि बाली संरक्षणसम्म सहज हुने भएकाले महिलाहरूको सहभागिता पनि बढ्दै गएको छ।
विगतमा पनि उहिया क्षेत्रमा मार्सी धानखेती हुने गरेको थियो। तर त्यसबेला उत्पादन मुख्यतः घरायसी उपभोगका लागि मात्र सीमित थियो। पछिल्लो तीन वर्षयता भने स्थानीय महिलाले व्यावसायिक उत्पादनको उद्देश्यसहित सामूहिक रूपमा खेती गर्न थालेका हुन्।
बाँदरबाट जोगिन रैथाने बालीको विकल्प
स्थानीयका अनुसार उहिया क्षेत्रमा कोदो, मकै, गहुँलगायतका रैथाने बालीमा बाँदरले अत्यधिक क्षति पुर्याउन थालेपछि किसानहरू खेतीबाटै विमुख हुने अवस्था आएको थियो। बाँदरबाट बाली जोगाउन कठिन भएपछि कतिपय पाखा–पखेरा वर्षौंसम्म बाँझै छाडिएका थिए।
स्थानीय कुमार घलेका अनुसार त्यही समस्याको विकल्पका रूपमा महिलाहरूले मार्सी धानखेतीलाई प्राथमिकता दिएका हुन्।
उहाँले भन्नुभयो, “यहाँको रैथाने बाली कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो।”
स्थानीयका अनुसार यहाँ उत्पादन हुने केही रैथाने बाली मदिरा उत्पादनमा बढी प्रयोग हुने गरेको र त्यसले सामाजिक विकृति निम्त्याउने गरेको भन्दै महिलाहरूले खाद्यान्नका रूपमा प्रयोग हुने मार्सी धान उत्पादनलाई प्राथमिकता दिएका हुन्।
मार्सी धान पाक्न तुलनात्मक रूपमा कम समय लाग्ने र बजारमा समेत राम्रो माग रहेकाले यसबाट महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने स्थानीयको विश्वास छ।
महिलाको आर्थिक सशक्तीकरणमा सहयोग
सामूहिक खेतीका कारण बाँझो जमिनको उपयोग हुनुका साथै स्थानीय महिलाले आफ्नै गाउँमा रोजगारी र आम्दानीको अवसर पाएका छन्। खेतीको काम, बाली संरक्षण, उत्पादन संकलन तथा बिक्रीवितरणमा महिलाको प्रत्यक्ष सहभागिता रहँदै आएको छ।
यसले महिलालाई घरायसी काममा मात्र सीमित नराखी कृषि उत्पादन र आम्दानीको गतिविधिमा सक्रिय बनाएको स्थानीयको भनाइ छ। समूहमा आबद्ध भएर काम गर्दा श्रमको व्यवस्थापनसमेत सहज भएको छ।
बाँदरको समस्याका कारण प्रयोगविहीन बनेका पाखा–पखेरामा मार्सी धानखेती सुरु भएपछि उहियामा कृषि गतिविधि पुनः बढेको छ। उत्पादनसँगै स्थानीय रैथाने बालीको संरक्षण, बाँझो जमिनको उपयोग र महिलाको आर्थिक सशक्तीकरणमा समेत यसले योगदान पुर्याएको स्थानीयको विश्वास छ।
मार्सी धानको उत्पादन हरेक वर्ष बढ्दै गएपछि आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने समूहको लक्ष्य छ। स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन सके मार्सी धान र फापर उहियाका किसानका लागि थप राम्रो आम्दानीको माध्यम बन्न सक्ने देखिएको छ।