चितवन । बाढी तथा विपद्का कारण चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमुना सङ्कलन कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा ३६३ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव पहिचान गर्न कठिन हुने अवस्थामा रहेकाले डीएनए परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको हो।
प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत हुन सकेको छ। पहिचान खुलेका शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए।
३४९ शवको सुरक्षित व्यवस्थापन
पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको एसपी पौडेलले बताए। शव व्यवस्थापनको काम गत भदौ १३ गतेदेखि सुरु गरिएको थियो।
पहिचान नखुलेका शवको व्यवस्थापन गरिए पनि भविष्यमा आफन्तको डीएनए नमुनासँग परीक्षण गरी पहिचान गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
व्यवस्थापन गरिएका सबै शवबाट आवश्यक डीएनए नमुना सुरक्षित राखिएको छ। यसले भविष्यमा हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमुनासँग मिलान गरी शवको पहिचान गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।
यसरी सुरक्षित राखिएको डीएनए नमुना भविष्यमा पहिचान प्रक्रिया अघि बढाउन महत्वपूर्ण प्रमाणका रूपमा प्रयोग गर्न सकिनेछ।
७५ आफन्तको डीएनए नमुना सङ्कलन
हराइरहेका व्यक्तिको पहिचान खुलाउने उद्देश्यले प्रहरीले उनीहरूका आफन्तको डीएनए नमुना सङ्कलनलाई प्राथमिकता दिएको छ।
प्रहरीका अनुसार हालसम्म ७५ जना आफन्तको डीएनए नमुना सङ्कलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। सङ्कलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डीएनए नमुना पनि रहेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए नमुना र सुरक्षित राखिएका शवको डीएनए नमुनाबीच परीक्षण तथा मिलान गरिनेछ।
पहिचान खुलाउन डीएनए परीक्षणमा जोड
विपद्का कारण लामो समयसम्म शव पहिचान गर्न नसकिने अवस्था सिर्जना भएपछि प्रहरीले वैज्ञानिक विधिबाट पहिचान गर्ने प्रक्रियालाई प्राथमिकता दिएको हो।
शवको बाहिरी स्वरूपबाट पहिचान गर्न नसकिने अवस्थामा डीएनए परीक्षण महत्वपूर्ण माध्यम बन्ने भएकाले फेला परेका शवको नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, हराइरहेका व्यक्तिका आफन्तबाट संकलन गरिएको डीएनए नमुनालाई विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएर शवबाट सुरक्षित गरिएको नमुनासँग मिलान गरिनेछ।
प्रहरीले पहिचान नखुलेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमुना संकलनलाई निरन्तरता दिने जनाएको छ।
बाढी तथा विपद्का कारण परिवारका सदस्य सम्पर्कविहीन भएका नागरिकका लागि डीएनए परीक्षणबाट पहिचान खुलाउन सकिने भएकाले सम्बन्धित परिवारसँग समन्वय गरी नमुना संकलन गर्ने कार्यलाई तीव्रता दिइएको छ।
फेला परेका शवको सुरक्षित व्यवस्थापन, वैज्ञानिक परीक्षण तथा आफन्तको डीएनए नमुना सङ्कलनमार्फत सम्पर्कविहीन व्यक्तिको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।