काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिका विषयमा जानकारी लिन प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल थालेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण, घाइते तथा प्रभावितको उपचार र सुरक्षा व्यवस्थालगायतका विषयमा प्रधानमन्त्रीले सुरक्षा निकायबाट विस्तृत जानकारी लिन लागेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। छलफलमा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार, नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण र राहत कार्यबारे जानकारी लिइरहेको बताइएको छ।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।
खोज तथा उद्धारको अवस्थाबारे ब्रिफिङ लिइँदै
बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा सुरक्षा निकायको ठूलो जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बेपत्ता नागरिकको खोजी, उद्धार तथा शवको खोजी र व्यवस्थापनको कामसमेत सुरक्षा निकायले गरिरहेका छन्।
प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखबाट प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण, स्वास्थ्य तथा उपचार सेवा र नागरिकको सुरक्षाको अवस्थाबारे विस्तृत ब्रिफिङ लिने बताइएको छ।
त्यसैगरी, बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन देखिएका कठिनाइ, विस्थापित नागरिकको व्यवस्थापन तथा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
आवश्यक निर्देशन दिने तयारी
प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखबाट प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा आवश्यक निर्देशन दिने तयारी गरेका छन्।
विशेषगरी अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई तीव्र बनाउने, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने, राहत तथा खाद्यान्नको सहज आपूर्ति गर्ने र घाइते तथा बिरामीको उपचारमा आवश्यक समन्वय गर्ने विषयलाई छलफलमा प्राथमिकता दिइने बताइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम अझै जारी रहेकाले सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार तथा राहत कार्यलाई थप तीव्र बनाउने विषयमा समेत प्रधानमन्त्रीले चासो राखेका छन्।
प्रधानमन्त्री तथा सुरक्षा निकायका प्रमुखबीचको छलफलपछि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय र निर्देशन आउने अपेक्षा गरिएको छ।