काठमाडौँ । काठमाडौँबाट प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्।
काठमाडौँ महानगरपालिका–१८, भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो।
जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट ठूलो परिमाणमा विभिन्न प्रकारका विस्फोटक पदार्थ (पटाका) बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद पटाका अवैध रूपमा भण्डारण गरी बिक्री वितरण गर्ने उद्देश्यले राखिएको खुलेको छ। प्रहरीले पटाका कहाँबाट ल्याइएको हो र यसमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको छ।
प्रहरीले चाडपर्व तथा अन्य अवसरमा अवैध रूपमा विस्फोटक पदार्थको भण्डारण तथा बिक्री वितरण हुन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ।