कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा एक्कासी पानीको बहाव रोकिएपछि गाउँपालिकाले आसपासका नदी तथा खोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाका अनुसार आज साँझ करिब ६ः३० बजेदेखि किम्रोङ खोलामा पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयवासीबाट प्राप्त भएको हो। खोलामा पानीको बहाव किन रोकिएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्थानीयबाट खोलाको बहाव करिब दुई घण्टादेखि रोकिएको जानकारी आएपछि आफू स्थलगत अवस्था बुझ्न वीरेठाँटीतर्फ गएको बताए। उनका अनुसार पहिरो वा अन्य कुनै कारणले खोला थुनिएको हुनसक्ने भए पनि कुन स्थानमा र के कारणले पानीको बहाव रोकिएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त भइसकेको छैन।
अध्यक्ष केसीले किम्रोङखोला तथा मोदीखोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। खोलामा एक्कासी पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन गाउँपालिकाले अपिल गरेको हो।
किम्रोङ खोला मोदी नदीमा गएर मिसिने भएकाले खोलाको बहाव अवरुद्ध हुँदा त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने देखिएको छ। त्यसैले कास्की तथा पर्वतका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी वीरेठाँटी, नयाँपुललगायत मोदी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ।
यसअघि पनि किम्रोङ खोलामा अचानक बाढी आएको थियो। गत असार २८ गते आएको बाढीले खोलामा रहेको पुल बगाउनुका साथै आसपासका होटल तथा अन्य संरचनामा समेत क्षति पुर्याएको थियो।
हाल खोलाको बहाव रोकिएको अवस्थाबारे थप जानकारी संकलन तथा स्थलगत निरीक्षणको काम भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक निगरानी बढाएका छन्।